नेपाल प्रिमियर लिग (एनपिएल)को सहभागी लुम्बिनीले मंगलबार सामाजिक सञ्जालबाट आफ्नो नाम र लोगो घोषणा गरेको छ । टोलीको नयाँ नाम लुम्बिनी लायन्स रहेको छ । लुम्बिनीका मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल रहेका हुन् । यसैगरी, चितवनले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।
चितवनले पनि सामाजिक सञ्जालमार्फत नाम र लोगो सार्वजनिक गरेको हो । टोलीको नयाँ नाम चितवन राइनोज रहनेछ । चितवनको मार्की खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल छन् ।
यसैबिच काठमाडौंले आफ्नो नाम र लोगो घोषणा ग¥यो । कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको काठमाडौंको आधिकारिक नाम काठमाडौं गोर्खाज रहनेछ । सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले पनि आफ्नो नाम घोषणा गरेका थिए । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलमा सहभागी आठ क्लबको मालिक सार्वजनिक गरेको छ । कर्णालीका निर्देशक घिमिरेले भने, ‘नीजि क्षेत्रलाई खेलसँग जोड्ने काम गरेकोमा क्यानलाई बधाई दिन चाहन्छु । यो सुखद् सन्देश हो । अब, नेपाली क्रिकेटले विकासमा ठुलो फड्को मार्नेछ ।’
एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ भाग लिँदै छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने लिगको २० असोजमा खेलाडी अक्सन हुनेछ । आठ टोलीको सहभागिता लिग १६ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।