सहरी क्षेत्रको पूर्वाधार निर्माण गर्दा अब गम्भीर भएर सोच्नुपर्छः प्रचण्ड

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठुलो जनधनको क्षति भएको बताएका छन्।

बाढी प्रभावित क्षेत्र काठमाडौंको बल्खु, ललितपुरको नख्खु र भक्तपुरको हनुमन्ते खोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयवासीलाई सम्बोधन गर्दै उनले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

हनुमन्ते खोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भने, ‘हनुमन्ते खोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौँ किसानले लगाएको करोडौँको तरकारीमा क्षति पुगेको छ।’ 

यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उनले निर्माणाधीन संरचनालाई पूर्णता नदिँदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताए।

ललितपुरको नख्खु खोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उनले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

ठुला योजना खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उनले स्पष्ट पारे। यो समस्या समाधान गर्न पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उनले भने, ‘मौसमविद्ले पूर्वानुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले ९ असोजमै सरकारको ध्यानाकर्षण गराएको थिएँ, तर सरकारले गम्भीर रूपले ध्यान दिएन।’

यो पीडाको वेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘म सरकारलाई गाली गर्न त चाहन्नँ, तर अब बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ। सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौँ, तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्नेछौँ।’

०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उनले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाइ गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको, तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिए।

सुझावित समाचार