कुलेखानी जलाशयको पानी घट्यो, संकलन क्षमताभन्दा डेढ मिटर तल

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

लगातारको वर्षाका कारण खतराको चिह्न पार गरेको इन्द्रसरोवरको जलसतह सरोवरमा पानी संकलनको क्षमताभन्दा तल पुगेको छ। सराेवरको ड्याममा रहेका दुईवटा ढोका खोलेपछि जलसतह घटेर अहिले एक हजार पाँच सय २८.५ मिटर पुगेको छ।

भरिएर एक हजार पाँच सय ३१ मिटर पुगेको जलसतह अहिले एक हजार पाँच सय २८.५ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए। जलाशयको दुवै ढोका अहिले दुई मिटर मात्रै खोलिएको छ। यसअघि शनिबार बिहान दुवै ढोका साढे चार मिटर खोलिएको थियो।

प्रमुख भट्टका अनुसार समुन्द्री सतहदेखि एक हजार पाँच सय ३० मिटर पानी संकलनको क्षमता रहेको जलाशयमा आज बिहान् ४:५० बजे एक हजार पाँच सय ३१ मिटर पुगेको थियो। बिहान ६ बजेतिर ड्यामको दुवै ढोका खोलेपछि जलसतह एक हजार पाँच सय २८.५ मिटरमा आइपुगेको छ। 

उनले इन्द्रसरोवरको जलाधार क्षेत्रमा अहिले पनि लगातार पानी परिरहेको जानकारी दिए। ड्यामको सुरक्षाको लागि दुईवटै ढोका र विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टको भनाइ छ। पानी परिरहेको अवस्थामा अझै पनि ढोका खुल्लै राख्ने र विद्युत् उत्पादन जारी रहने उनले बताए।

सुझावित समाचार