भैँसेपाटी प्रभागकी इन्स्पेक्टरलाई निलम्बन गर्न पत्राचार

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण
भैँसेपाटी प्रभागकी इन्स्पेक्टरलाई निलम्बन गर्न पत्राचार

इन्स्पेक्टर बिनुकुमारी शाही

बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा मिलेमतोको आशंकामा ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)की इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार भएको छ । प्रारम्भिक छानबिनमै उनले आपराधिक समूहलाई सहयोग गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन प्रक्रिया अघि बढाएको थियो । 

जिल्ला प्रहरी परिसर, ललितपुरले इन्स्पेक्टर शाहीलाई निलम्बनका लागि पत्राचार गरी छानबिन समिति गठन गरेको छ । डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनेको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । गत ७ असोजमा शान्ति सुरक्षासम्बन्धी विषयमा भन्दै प्रभागमा मोरङ घर भई ललितपुरको इमाडोल बस्ने एक व्यापारीलाई थुनामा राखिएको थियो । साउनको पहिलो साता इटहरीमा चिनजान भएकी एक युवतीले शान्ति सुरक्षासम्बन्धी उजुरी गरेकी थिइन् । त्यही विषयमा थुनामा राखेर प्रहरी कार्यालयभित्रै बार्गेनिङ सुरु भएको थियो । सुरुमा ६० लाख मागिएकोमा ३० लाख दिइएको खुलेको छ ।

सोही दिन उनले सात लाख रुपैयाँ बुझाएका थिए । भोलिपल्ट गाडी बेचेर उनले थप १३ लाख बैंक खातामा हाली १० लाख रुपैयाँको चेक काटिएको थियो । २० लाख रुपैयाँ इटहरीकै एक युवतीको नाममा जम्मा भएको छ । ती युवती प्रहरीको मान्छे हो कि उजुरी दिने पक्षको भन्ने खुलेको छैन । साथै, इटहरीका मान्छे भैँसेपाटी आएर उजुरी दिएर ती व्यापारीलाई पक्राउ गरिएको घटना सबैभन्दा शंकास्पद देखिएको छ । 

घटनामा संलग्न सुष्मा विक र ताजमुल इस्लामलाई प्रहरीले पक्राउ गरेको थियो । योजनाकार समूहका दर्शन पोखरेल फरार भएका छन् । प्रहरीमा सो विषयमा डिल गर्ने उनी नै थिए । सबैजना भैँसेपाटी प्रभागमै रहेका वेला पक्राउ परेकामा उनी भने फरार हुनुले पनि घटना रहस्यमय बनेको छ । ती व्यापारी र युवती साउनको पहिलो साता इटहरीमा घुम्न गएका थिए । सोही विषयमा बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी प्रयोग गरी पैसा असुलिएको हो । यसमा प्रहरी नै आपराधिक योजनामा मिलेको प्रारम्भिक छानबिनमा देखिएको छ । 

सुझावित समाचार