चीन र रुसका विदेशमन्त्रीबिच राष्ट्रसंघमा युक्रेन संकटबारे छलफल

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

चीन र रुसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसंघीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन्। पछिल्लो समय चीन र रुसको सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढावा पाएको छ।

पश्चिमी मुलुकहरूले रुसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन्। आरोपलाई चीनले अस्वीकार गर्दै  द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीले बिहीबार विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघीय महासभामा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटवार्ता गरेको जनाएको छ।

छलफलमा दुवै पक्षले युक्रेन संकटलगायत विषयमा विचार आदानप्रदान गरेको सिसिटिभीले उल्लेख गरेको छ। विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रूपमा चीन–रुस सम्बन्धलाई अगाडि बढाउने बताए।

चीन र रुसले ‘नो–लिमिट्स’ साझेदारीअनुरूप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन्। बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँँ वार्षिकोत्सव मनाउँदै छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना रुसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ।

सुझावित समाचार