‘घोस्ट सार्क’को नयाँ प्रजाति भेटियो

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

न्युजिल्यान्डका वैज्ञानिकहरूले ‘घोस्ट सार्क’को नयाँ प्रजाति पत्ता लगाएका छन्। यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल सिकार खोज्छ।

वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए)का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ।

यी नमुनाहरू चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो। चाथम राइज प्रशान्त महासागरको एक भाग हो र यो न्युजिल्यान्डको दक्षिणी टापुनजिक पूर्वतर्फ करिब एक हजार किलोमिटरमा फैलिएको छ।

घोस्ट सार्क वा किमेरा सार्क र किरणहरूसँग सम्बन्धित छन्। तर, यी माछाको त्यस्तो समूहका अंग हुन् जसको कंकाल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ। स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो, कत्लारहित छाला हुन्छ।
    
यिनीहरूले आफ्नो विशिष्ट चुच्चोजस्तो मुख प्रयोग गरेर दुई हजार ६ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन्।

अनुसन्धानमा संलग्न वैज्ञानिक ब्रिट फिनुक्सीले भनिन्, ‘यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन्।’ उनले यस नयाँ प्रजातिलाई आफ्नी हजुरआमाको सम्झनामा ‘हेरियोटा एभिया’ वैज्ञानिक नाम दिएकी छिन्।

‘तिनीहरूको वासस्थानका कारण तिनीहरूलाई अध्ययन र अनुगमन गर्न कठिन हुन्छ, यसको अर्थ हामी तिनीहरूको जीवविज्ञान वा खतराको स्थितिबारे धेरै जान्दैनौँ। तर, यसले यस्ता खोजहरूलाई अझ रोमाञ्चक बनाउँछ,’ उनले भनिन्।

वैज्ञानिकहरूले स्पुकफिस आनुवांशिक रूपमा र आकारका आधारमा फरक छ भन्ने पत्ता लगाउनुअघि यसलाई विश्वव्यापी रूपमा वितरित एकल प्रजातिको हिस्सा मानिन्थ्यो।

सुझावित समाचार