श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ गरेका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिसानायकेलाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।
एक समारोहबिच ५५ वर्षीय दिसानायकेले प्रधानन्यायाधीशसमक्ष शपथ लिएका थिए । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायके ४२.३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२.७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका थिए भने सन् २०२२ को आर्थिक संकटको चरम अवस्थामा पदभार सम्हालेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिंघे १७.२७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए । शपथ ग्रहणपछि दिसानायकेले भने, ‘जनताको राजनीतिज्ञप्रतिको विश्वासलाई पूर्ण रूपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।’
उनले भने, ‘म जादुगर होइन । मैले जानेका कुरा छन् र मलाई थाहा नभएका कुरा पनि छन्, म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।’
सन् २०२२ मा श्रीलंकामा आएको आर्थिक मन्दीका कारण आमश्रीलंकावासीले पीडादायी कष्ट भोग्नुपरेपछि दिसानायकेको समर्थनमा वृद्धि भएको थियो । यसैबिच, श्रीलंकाको नयाँ राष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् ।