काउन्टरको विषयमा विवादपछि तरबार प्रहार हुँदा दुईजना घाइते

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिका- १, श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद भएको छ। सल्यान रुकुम यातायात प्रालि र शारदा यातायात प्रालिबिच आ–आफ्नो काउन्टरअघि गाडी रोक्ने विषयमा शनिबार बिहान विवाद हुँदा एक पक्षले तरबार प्रहार गरेको छ। 

काउन्टरअगाडि गाडी रोक्ने विषयमा विवाद हुँदा शारदा यातायात प्रालिका इन्चार्ज सल्यान शारदा नगरपालिका- १ का २५ वर्षीय शिवप्रसाद कुँवरले लुकाइछिपाई ल्याएको तरबार प्रहार गर्दा सल्यान रुकुम यातायात प्रालिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। डाँगीले प्रतिकार गर्दा कुँवर पनि घाइते भएको प्रहरीको भनाइ छ।

घाइते डाँगीको दायाँ हातको पाखुरा र बायाँ हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। यस्तै, कुँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनले बताए।  
 

सुझावित समाचार