सेनाका पाल र दुर्गम गाउँकी साहु बने पहिलो रात्रिदौड विजेता

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

दशौँ नेपालगन्ज म्याराथनअन्तर्गत बिहीबार बेलुकी भएको १० किलाेमिटर ‘नाइट रन’को उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।

दशौँ नेपालगन्ज म्याराथनअन्तर्गत १० इभेन्टमध्ये बिहीबार बेलुकी ८ बजे नेपालगन्जमा १० किलोमिटर रात्रिकालीन दौड (नाइट रन)मा पालले ३१.०७.२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । पुरुषतर्फको विधामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबका सन्तोषविक्रम विष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भएको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । उनका अनुसार सन्तोषले ३२:४८:४४ मिनेटमा निर्धारित दूरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरी तृतीय भए ।

नेपालगन्ज म्याराथनको दशौँ संस्करण विशेष बनाउन ‘दशाैँमा दश इभेन्ट’अन्तर्गत पहिलो कार्यक्रमका रूपमा भएको १० किलोमिटर रात्रिदौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीताकुमारी साहु पहिलो भइन् । उनले ५९:१६:५२ मिनेटमा दूरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा र सलिना थारू एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीनजनाले क्रमशः नगद रु. २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरण गौतम, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दीपेन्द्र विष्टलगायतले पुरस्कृत गरे । 

भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दूरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८ः५६ः२३ मिनेट दोस्रो तथा महेन्द्र बज्राचार्य ४९:१९: २५ मिनेट तेस्रो भए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भीम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । 

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वारअगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बिपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझानजिकै पुगेर पुनः सोही रुटमा बिपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे । 
 

सुझावित समाचार