स्केट बोर्ड र रोलर स्केट आयोजना हुँदै

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा ४ र ५ असोजमा काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना हुने भएको छ।

प्रतियोगिता स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका एक सय ७० खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए।

थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा एक सय प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। जसमा ७० खेलाडीहरू सहभागी हुनेछन्।

प्रतियोगिता खुल्ला रूपमा हुने र त्यसमा पुरुष र महिला दुबैले एउटै इभेन्टसमा बराबरी रूपमा तिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ। 

खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमशः ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल अनुमानित बजेट आठ लाख रुपैयाँ छ।   

पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरूसँग खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पुर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए।

संघले आवश्यक खेल पुर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले बताए।

सुझावित समाचार