प्रहरीमा ३० वर्षे सेवावधि हटाउन अर्थ मन्त्रालयको स्वीकृति

आइजिपीको उमेर अवधि दुई वर्ष थप

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

‘मास्टर्स इन पुलिस साइन्स’ अध्ययन नगरे डिआइजीभन्दा माथिल्लो पदमा बढुवा हुन नसक्ने

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक चासोले हेरिएको ३० वर्षे सेवावधि हटाउन अर्थ मन्त्रालयले स्वीकृति दिएको छ ।आइजिपी (प्रहरी महानिरीक्षक)को उमेर अवधि दुई वर्ष थपेर ६० वर्ष कायम गरिने भएको छ । गृह मन्त्रालयले राय सुझावका लागि पेस गरेको संघीय प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको मस्यौदा अर्थ मन्त्रालयले स्वीकृत गरेको हो । 

महिना दिनको अध्ययनपछि अर्थले मस्यौदा स्वीकृत गरी २७ भदौमा गृहलाई पठाइसकेको छ । त्यस्तै, गृहले उक्त मस्यौदा २८ भदौमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ । कानुन मन्त्रालयले स्वीकृति गरेपछि गृहले मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि ऐनको मस्यौदा संसद्मा पेस हुनेछ र त्यहाँबाट पास भएर कानुनको रूप पाउनेछ । 

गृह मन्त्रालयमातहत कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले संघीय प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको मस्यौदा अर्थले स्वीकृत गरेको र अहिले कानुन मन्त्रालयमा पेस गरिएको बताए । उनले भने, ‘गृह संघीय प्रहरी ऐन निर्माणको चरणमा छ । स्वीकृतिका लागि हामीले अर्थमा पेस गरेका थियौँ । मस्यौदा अर्थले स्वीकृत गरिसकेको छ । अहिले हामीले उक्त मस्यौदा कानुन मन्त्रालयमा पेस गरेका छौँ । कानुनबाट पास भएर आएपछि क्याबिनेट जानेछ । क्याबिनेटबाट संसद्मा पेस हुनेछ ।’

अर्थबाट स्वीकृत मस्यौदाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवावधि ३ चरणमा हटाइनेछ । ऐन कार्यान्वयन हुँदाको बखत ३० वर्षे सेवावधिका कारण अवकाशको सम्मुखमा रहेका प्रहरी कर्मचारीहरूका लागि पहिलो चरणमा ६ महिना सेवावधि थप हुनेछ । दोस्रो चरणमा १ वर्ष र तेस्रो चरणमा १ वर्ष ६ महिना सेवावधि थप हुनेछ । त्यसपछि ऐन पूर्ण तवरले कार्यान्वयनमा आउनेछ । बढुवा र अवकाशको सम्मुखमा रहेका कुनै पनि प्रहरी कर्मचारीलाई मर्का नपर्ने गरी तरिका अपनाइएको गृहको भनाइ छ । 

गृह स्रोतले भन्यो, ‘योजनाअनुसार काम अघि बढे अबको महिना दिनभित्र ऐन पास हुन्छ । त्यसलगत्तै यो कार्यान्वयनमा आउँछ । यसमा सबैभन्दा ठुलो चुनौती ३० वर्षे सेवावधिलाई  न्यायसंगत ढंगले कसरी व्यवस्थापन गर्ने भन्ने थियो । यसका लागि हामीसँग तीन विकल्प थिए । त्यसमध्ये ६ महिना, १ वर्ष र १ वर्ष ६ महिना सेवावधि थप गरी चौथो चरणमा ऐन पूर्ण तवरले कार्यान्वयनमा ल्याउने विकल्प उपयुक्त देखियो । हामीले त्यसैलाई अघि बढायौँ । यो ऐन पास भएलगत्तै कार्यान्वयनमा आउँछ । यसले कसैको करियरमा हानि गर्दैन ।’ ऐन कार्यान्वयनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको उमेर र पदावधिका कारण मात्रै अवकाशमा जानेछन् । 

संगठन प्रमुख आइजिपीको उमेरहद दुई वर्ष थपेर ६० वर्ष कायम गरिएको छ भने पदावधि ३ वर्ष राखिएको छ । हाल आइजिपीको उमेरहद ५८ वर्ष छ भने पदावधि ४ वर्ष छ । त्यस्तै, एआइजी र डिआइजीको उमेरहद ५९ वर्ष कायम गरिएको छ । हालको मस्यौदामा दुवैको ५६ वर्ष राखिएको छ । त्यस्तै, उनीहरूको सेवावधि क्रमशः ४ र ५ वर्ष तोकिएको छ, जुन हाल दुवैको ५ वर्ष छ ।

एसएसपी ५८ वर्षमा अवकाशमा जानेछन् भने पदावधि ८ वर्ष राखिएको छ । चालू ऐनअनुसार एसएसपीको उमेरहद ५५ वर्ष छ भने पदावधि ६ वर्ष मात्रै छ । त्यसबाहेकका पदमा भने अवकाशको पदावधि तोकिएको छैन । तर, उनीहरू उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् । अर्थबाट स्वीकृत मस्यौदाअनुसार एसपी र डिएसपी समान ५८, इन्स्पेक्टर ५७, सइ र असइ ५४, जवान ५१ र कार्यालय सहयोगी ५५ वर्षमा अवकाशमा जानेछन् । हाल मौजुदा ऐनमा एसपीको ५५, डिएसपीको ५४, इन्स्पेक्टरको ५३, सइको ५२, असइको ५१, जवानको ४८ र कार्यालय सहयोगीको ५५ वर्ष उमेरहद कायम गरिएको छ । 

दुवै प्रहरीमा जवान, सइ र इन्स्पेक्टर गरी तीन तहमार्फत कर्मचारी भर्ना लिइनेछ । जवान पदको भर्ना शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनेछ भने इन्स्पेक्टरको ६०÷४० को अनुपातबाट लिइनेछ । अर्थात् उक्त पदमा ६० प्रतिशत कर्मचारी खुला र ४० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ । त्यस्तै, सइको भर्ना भने ५१/४९ को अनुपातमा लिइनेछ । अर्थात् सइ पदको पूर्ति ५१ प्रतिशत खुला प्रतिस्पर्धा र ४९ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट हुनेछ ।

स्वीकृत मस्यौदाअनुसार प्रदेश प्रहरीको कमान्ड डिआइजीले गर्नेछ । डिआइजीले मातहतका कार्यालयको रिपोर्टिङ सीधै आइजिपीलाई गर्नेछ । आइजिपीले गृहसचिव हुँदै गृहमन्त्रीलाई गर्नेछन् । प्रदेश डिआइजीले शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा सम्बन्धित प्रदेशस्थित आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग नियमित समन्वय गर्नेछ ।

 ‘मास्टर्स इन पुलिस साइन्स’ अध्ययन नगरे डिआइजीभन्दा माथिल्लो पदमा बढुवा हुन नसक्ने 
नयाँ ऐनको मस्यौदाअनुसार नेपाल प्रहरीमा अधिकृत तहका प्रहरी कर्मचारीले एमपिएस (मास्टर्स इन पुलिस साइन्स) अध्ययन अनिवार्य रूपमा गर्नुपर्नेछ । एमपिएस पास नगरेका प्रहरी अधिकृत डिआइजीभन्दा माथिल्लो पदमा बढुवा हुन नसक्ने व्यवस्था राखिएको छ । एमपिएस परीक्षाका लागि प्रत्येक अधिकृतलाई तीनपटकसम्म सहभागी हुने मौका दिइनेछ । तीनपटकमा पनि पास नगर्ने अधिकृत एसएसपीबाटै  अनिवार्य अवकाशमा जानेछन् । 

एमपिएस परीक्षा ०७० यता भर्ना भएका अधिकृतका लागि अनिवार्य रूपमा लागू हुनेछ । नाम निकालेको आठ वर्षपछि मात्रै इन्स्पेक्टरले एमपिएस अध्ययन गर्न सक्नेछन् । सुरुको चरणमा सिनियर इन्सपेक्टर र जुनियर डिएसपीलाई एमपिएस परीक्षामा सहभागी गराइनेछ । 

कुन पदमा के फेरबदल ?
संगठन प्रमुख आइजिपीको उमेरहद दुई वर्ष थपेर ६० वर्ष कायम गरिएको छ भने पदावधि तीन वर्ष राखिएको छ । हाल आइजिपीको उमेरहद ५८ वर्ष छ भने पदावधि चार वर्ष छ । त्यस्तै, एआइजी र डिआइजीको उमेरहद ५९ वर्ष कायम गरिएको छ । हालको ऐनमा दुवैको ५६ वर्ष छ । त्यस्तै, उनीहरूको सेवावधि क्रमशः चार र पाँच वर्ष तोकिएको छ, जुन हाल दुवैको पाँच वर्ष छ । एसएसपी ५८ वर्षमा अवकाशमा जानेछन् भने पदावधि आठ वर्ष राखिएको छ ।

चालू ऐनअनुसार एसएसपीको उमेरहद ५५ वर्ष छ भने पदावधि ६ वर्ष मात्रै छ । त्यसबाहेकका पदमा भने अवकाशको पदावधि तोकिएको छैन । तर, उनीहरू उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् । अर्थबाट स्वीकृत मस्यौदाअनुसार एसपी र डिएसपी समान ५८, इन्स्पेक्टर ५७, सइ र असइ ५४, जवान ५१ र कार्यालय सहयोगी ५५ वर्षमा अवकाशमा जानेछन् । हाल मौजुदा ऐनमा एसपीको ५५, डिएसपीको ५४, इन्स्पेक्टरको ५३, सइको ५२, असइको ५१, जवानको ४८ र कार्यालय सहयोगीको ५५ वर्ष उमेरहद कायम गरिएको छ । 

सुझावित समाचार