सरकारले तोकेका विकास र सुधारका लक्ष्यमा आधा मात्रै प्रगति

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

आर्थिक वर्ष ०८०/८१ मा तोकिएका एक हजार ६ सय क्रियाकलापमध्ये ६ सय ६८ मात्रै सम्पन्न, तीन हजार चार सय २१ माइलस्टोनमा ४८.५ प्रतिशत प्रगति

आफैँले तोकेका क्रियाकलाप र माइलस्टोन हासिल गर्न सरकार चुकेको छ । आर्थिक वर्ष ०८०/८१ मा सरकारले कुल एक हजार ६ सय क्रियाकलाप र तीन हजार चार सय २१ माइलस्टोन निर्धारण गरेको थियो । जसमा आधाभन्दा कम मात्रै प्रगति भएको छ । अझ साढे ४ प्रतिशत क्रियाकलाप र ११ प्रतिशत माइलस्टोन त सुरु नै भएका छैनन् । 

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत सबै मन्त्रालय, योजना आयोग, लगानी वोर्ड, सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय र तथ्यांक कार्यालयसमेत २७ निकायका क्रियाकलाप र माइलस्टोनलाई एकीकृत अनुगमन प्रणालमिा प्रविष्ट गरिएका थिए । तर, ती क्रियाकलाप कार्यान्वयन तथा माइलस्टोन प्राप्तिमा अपेक्षित नतिजा प्राप्त नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । 

नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका कार्यक्रम तथा योजना कार्यान्वयनको प्रभावकारी कार्यान्वयनका लागि क्रियाकलाप र माइलस्टोन तोकिँदै आएको छ । के–के काम गर्ने र के–के प्रगति हासिल भएको हुने भनेर तोकिएको लक्ष्य नै क्रमशः क्रियाकलाप र माइलस्टोन हुन् । अर्थात्, उक्त आवमा नेपाल सरकारले गरेको काम नै क्रियाकलाप हुन् भने प्राप्त उपलब्धिहरू माइलस्टोन हुन् । 

राजनीतिक एवं प्रशासनिक नेतृत्व जिम्मेवार नबन्दा लक्ष्यअनुसार काम गर्न नसकिएको र माइलस्टोन प्राप्ति नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीले बताए । ‘सरकार फेरियो, कर्मचारीको सरुवा एक–दुई महिनामै हुन थाल्यो, यसले गर्दा कामले गति लिएन,’ उनले भने, ‘कतिपय सन्दर्भमा अख्तियार ओभरसाइड एजेन्सीका गतिविधि एवं निर्देशनले समेत कामको गति लिन नसकेको देखिन्छ ।’ खासगरी पूर्वाधार क्षेत्रका क्रियाकलाप र माइलस्टोनमा निराशाजनक प्रगति भएको देखिन्छ । शासकीय सुधार र सामाजिक क्षेत्रका क्रियाकलाप एवं माइलस्टोनमा भने सन्तोषप्रद प्रगति भएको उल्लेख छ ।

विकासका माइलस्टोनमा निराशाजनक
आर्थिक वर्ष ०८०/८१ का लागि तोकिएका एक हजार ६ सय क्रियाकलापमध्ये ४१.७ प्रतिशत अर्थात् ६ सय ६८ मात्रै सम्पन्न भएका छन् । त्यस्तै, आठ सय ६२ क्रियाकलाप चालू आवस्थमा रहेका छन् भने ७० क्रियाकलाप सुरु नै हुन सकेका छैनन् । कुल क्रियाकलापमध्ये ५३.९ प्रतिशत चालू अवस्थामा रहेको तथा ४.४ प्रतिशत सुरु नै हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । 

तोकिएका क्रियाकलापमध्ये सबैभन्दा बढी प्रगति सामाजिक क्षेत्रमा र सबैभन्दा कम प्रगति पूर्वाधार क्षेत्रमा भएको देखिन्छ । प्रतिवेदनअनुसार आर्थिक क्षेत्रमा ४० प्रतिशत, पूर्वाधार क्षेत्रमा २२ प्रतिशत, शासकीय सुधारमा ५४ प्रतिशत र सामाजिक क्षेत्रको ६२ प्रतिशत क्रियाकलाप सम्पन्न भएका हुन् । 

सरकारले तोकेका तीन हजार चार सय २१ माइलस्टोनमध्ये ४८.५ प्रतिशत अर्थात् एक हजार ६ सय ५९ मात्रै सम्पन्न भएका छन् । त्यस्तै, एक हजार तीन सय ८५ माइलस्टोन चालू अवस्थामा छन् भने तीन सय ७७ सुरु नै भएका छैनन् । कुल माइलस्टोनमध्ये ४०.५ प्रतिशत चालू अवस्थामा रहेको तथा ११ प्रतिशत सुरु नै हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । तोकिएका माइलस्टोनमध्ये सबैभन्दा बढी प्रगति सामाजिक क्षेत्रमा र सबैभन्दा कम प्रगति पूर्वाधार क्षेत्रमा भएको देखिन्छ । प्रतिवेदनअनुसार आर्थिक क्षेत्रमा ५०.७ प्रतिशत, पूर्वाधार क्षेत्रमा २९.०९ प्रतिशत, शासकीय सुधारमा, ६६.०६ प्रतिशत र सामाजिक क्षेत्रको ६९.४६ प्रतिशत माइलस्टोन सम्पन्न भएका हुन् । 

कार्यसम्पादन सम्झौताले पनि ल्याउन सकेन नतिजा
नीति तथा कार्यक्रम, बजेट र तिनैका आधारमा तयार पारिएको क्रियाकलाप र माइलस्टोन निर्धारित समय, लागत र गुणस्तरअनुसार सम्पन्न गर्ने अपेक्षित नतिजा हासिल गर्न प्रधानमन्त्री र मन्त्रीहरूबिच २५ साउन ०८० मा कार्यसम्पादन सम्झौतासमेत भएको थियो । तर, कार्यसम्पादन सम्झौताले समेत अपेक्षित नतिजा ल्याउन नसकेको प्रतिवेदनले देखाउँछ । तयारी पूरा नभएको, समन्वयन नभएको, कानुन जटिलता देखिएका कारण तोकिएका लक्ष्य पूरा हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा क्रियाकलाप कार्यान्वयन र माइलस्टोन प्राप्तिमा आंशिक प्रगति मात्रै भएको हो । आव ०७९/८० मा ३१.७ प्रतिशत क्रियाकलाप सम्पन्न भएका थिए । आव ०८०/८१ मा क्रियाकलाप कार्यान्वयन १० विन्दु प्रतिशतले बढेको देखिन्छ । आव ०७९/८० मा ४१.८७ प्रतिशत माइलस्टोन सम्पन्न भएको थियो । आव ०८०/८१ मा ६.७ विन्दु प्रतिशत बढी माइलस्टोन प्राप्ति भएको देखिन्छ । 
 

See More On

सुझावित समाचार