विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ। ललितपुरको गुसिंगाल क्षेत्रमा अहिले विश्वकर्माको मूर्तिलाई अन्तिम स्वरूप दिने काम तीव्र गतिमा भइरहेको छ। विभिन्न मेसिनरी सामान बनाउने र ग्यारेजहरूको लागि अर्डरअनुसार मूर्ति तयार गरिएको छ।

प्रत्येक मूर्तिको आकारअनुसार ८ हजार देखि १८ हजारसम्म पर्ने मूर्ति कारखाना सञ्चालक श्यामनारायाण पण्डितले बताए। नेपालमा विश्वकर्मा पूजाको विशेष महत्व रहेको छ। विश्वकर्मा पूजाको दिनमा विशेष गरी सवारीसाधनहरूको पूजा गर्ने प्रचलन रहेको छ। आफ्ना ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मूर्ति स्थापना गरिन्छ र भोलिपल्ट उक्त मूर्तिलाई सेलाउने गरिन्छ।

देवताहरूका शिल्प विशेषज्ञ तथा सम्पूर्ण देवताका भवन, हातहतियारलगायत यानहरूका निर्माता विश्वकर्मा ब्रह्माका पुत्र भएको शास्त्रमा उल्लेख गरिएको छ। सोही कारणले गर्दा विश्वकर्माको पूजाका रूपमा मान्ने प्रचलन भएको र आ–आफ्ना सम्पूर्ण सवारीसाधन,मेसिन कलकारखानामा तथा धातुसम्बन्धी काम गरिने कार्यस्थलमा विशेष पूजाआजा गरिन्छ।








