गत महिना काभा नेसन्स महिला भलिबलमा नेपाललाई उपविजेता बनाएका जगदीश भट्ट काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षक
काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा जगदीश भट्टलाई मुख्य प्रशिक्षक बनाएको छ । राष्ट्रिय महिला टोलीको लामो समय मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका भट्टको प्रशिक्षणमा काठमाडौंले सफलता दिलाउने लक्ष्य राखेको छ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका प्रशिक्षक भट्टले आगामी सिजनमा काठमाडौंलाई सफलता दिलाउने विश्वास छ,’ काठमाडौंले जनाएको छ ।
बलियो रणनीतिक कौशल र बलिया टिमविरुद्ध तत्कालै रणनीति बनाउन सक्ने खुबी भट्टको छ । एसिया र युरोपका उच्चस्तरीय टोलीलाई समेत प्रशिक्षण दिएको अनुभव बटुलेका उनी प्राविधिक विशेषज्ञ पनि हुन् । ‘खेलाडीलाई उनीहरूको पूर्ण क्षमतामा खेल्न सक्ने बनाउने र जुनसुकै प्रतिस्पर्धाका लागि सक्षम टोली निर्माण गर्ने प्रमाणित ट्र्याक रेकर्ड रहेको छ,’ काठमाडौंले जारी गरेको विज्ञप्तिमा भानिएको छ, ‘यसकारण हामीले उनलाई प्रशिक्षकमा चयन गरेका हौँ ।’
काठमाडौंमा रहेका उषा भण्डारी, कमला पुन, आरती सुवेदी, निशा महर, कोपिला राना, वसन्ती साउदजस्ता प्रतिभाशाली खेलाडीले भट्टबाट प्रशिक्षण पाउनेछन् । यद्यपि, यी खेलाडीका लागि उनी नयाँ प्रशिक्षक होइनन् । काठमाडौं स्पाइकर्सकी सिइओ सुदीक्षा अधिकारीले भट्टको आगमनसँगै टोली प्राविधिक रूपमा बलियो भएको बताइन् । ‘प्रशिक्षक भट्टको आगमनले प्राविधिक रूपमा उत्कृष्ट र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई सहयोग हुनेछ । उनको मार्गदर्शनले हाम्रा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीबिचको सन्तुलन हेर्न हामी उत्सुक छौँ,’ अधिकारीले भनिन् ।
काठमाडौंका खेलाडी उत्साहित
प्रशिक्षक भट्टले नयाँ भूमिकामा टोली सम्हाल्न उत्साहित भएको प्रतिक्रिया दिए । ‘काठमाडौं स्पाइकर्सको प्रशिक्षाको जिम्मेवारी निभाउन पाउँदा उत्साहित छु । यो टोली सम्भावनाले भरिएको छ र म एकजुट भएको प्रतिस्पर्धात्मक युनिट बनाउन खेलाडी र स्टाफ दुवैसँग मिलेर काम गर्न तत्पर छु,’ उनले भने, ‘एभरेस्ट महिला भलिबल लिग एउटा रोमाञ्चक मञ्च हो र यसमा आफ्नो प्रभाव देखाउन म स्पाइकर्सलाई मद्दत गर्न तयार छु ।’