फेदीकाे पहिराेले तादीमा आएको बाढीले तीनवटा झोलुंगे पुल बगाउँदा बस्ती–बस्तीबिचकाे सम्पर्क टुट्याे

तादी खोलाको तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन नुवाकोट प्रशासनकाे अपिल

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुंगे पुल बगाउँदा एक बस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङफेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर– ७ शिखरबेँसीबाट दुप्चेश्वर–  १ कुदुङस्थित घ्याङफेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ। उक्त स्थानबाट आउतजावत गर्न सक्ने अवस्था दुप्चेश्वर– १ घ्याङफेदीको अन्य बस्तीसँगको सडक सम्पर्क अवरुद्ध भएको हो। 

उक्त वडालाई जोड्न वैकल्पिक सडक तथा बाटोसमेत नहुँदा उद्धार तथा क्षतिको लगत लिन पुगेको टोली घ्याङफेदी जानबाट रोकिएको छ। सडक र बाटोको आउजाउ नहुँदा वडा नम्बर १ घ्याङफेदीका एक हजार ६ सय घरधुरी परिवारको वडाभन्दा बाहिरको आउजाउ पूर्ण रूपमा बन्द भएको छ।

पहिरोले तीनवटा झोलुंगे पुल बगाएको छ । खेतीयोग्य जग्गा कटान गरेर सयौँ रोपनीमा लगाएको बालीलाई क्षति पुर्याएको छ। फेदीमा आएको पहिरोले तालु र कसेरी जोड्ने झोलुङे पुल, शिशिपु र कसेरी जोड्ने झोलुंगे पुल र फेदी र घोप्टेभिर जोड्ने काठको पुल बगाएको हो । प्रभावित स्थानमा जाने मूल सडक अवरुद्ध भएको र बस्ती जोड्ने पुलसमेत बगाएकाले क्षतिको थप विवरण आउन बाँकी रहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले जानकारी दिए। 

उनका अनुसार त्यस ठाउँमा जान सक्ने अवस्था नभएपछि सोही वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षकलाई उद्धार तथा क्षतिको विवरण लिन परिचालन गरिएको छ। पहिरोको गेगरले तादी खोलाको बहाव बढेसँगै  सूर्यकुण्ड जलविद्युत् आयोजनाको पाइपलाइन विस्तारको लागि बनाएको पर्खालसमेत बगाएको छ। सुक्खा पहिरो बगेकोलगत्तै आएको अविरल वर्षाको कारण गएराति तादी खोलाको बहाव दोब्बरले बढेको थियो। होटेल व्यवसायी पेम्बा लामाका अनुसार फेदीनजिकै बगेका साना–ठूला चारवटा पहिरोले गएराति तादी खोलामा बाढी आएको हो। 

गेगर (लेदो)सहितको बाढी आएकाले तादी खोलाको तटीय क्षेत्र आसपासमा सावधानी अपनाउन दुप्चेश्वरका अध्यक्ष थापाले अपिल गरेका छन्।  पहिरो अझै थपिने र तादी खोलाको बहाव ठूलो हुन सक्ने जोखिम भएकाले दुप्चेश्वर गाउँपालिकाको रामतीबजारदेखि समुद्रटार बजार, भ्याङ्ले, सातबिसे, आप्रह, ढिकुरे हुँदै विदुर नगरपालिका– ५ स्थित देवीघाट बजारसम्मका तादी खोलाको तटीय क्षेत्रआसपासका बासिन्दालाई सतर्क रहन नुवाकोट प्रशासनले अपिल गरेको छ । 
 

सुझावित समाचार