जिल्ला सहकारी संघ काभ्रेमा अमन पोटे श्रेष्ठ विजयी

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

जिल्ला सहकारी संघ काभ्रेको ४३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन भएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा होमिएकाे थियाे । निर्वाचनमा एमालेबाट सचिव र एकजना सदस्यबाहेक सम्पूर्ण पदमा गठबन्धन विजयी भएका छन् । 

बुधबार भएको निर्वाचनमा गठबन्धनको तर्फका उम्मेदवार अमन पोटे श्रेष्ठ अध्यक्ष पदमा भारी मतले विजयी भएका छन् । उनी १९० मतसहित विजयी भएका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन शाक्य  १४९ मत ल्याएर पराजित भएका हुन् । 

त्यस्तै, उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार शान्ति लामा तामाङ १७० मतसहित विजयी भएकी छिन् । गठबन्धनकी महिला उपाध्यक्ष मिरा सत्यालले १७२ मत ल्याएर विजयी भएकी छिन् । 

सचिव पदमा नेकपा एमालेका उम्मेदवार प्रकाश बन्जरा १८६ मतसहित विजयी भएका छन् । उनका प्रत्याशी गठबन्धनका उम्मेदवार यदुनाथ हुमागाईंले १४९ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद सापकोटा १७६ मतसहित विजयी भएका छन् । 

सञ्चालक समिति सदस्यहरूमा एकजनाबाहेक सबै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रञ्जित, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ र सुदर्शन अधिकारी विजयी भएका छन् । रोशनकुमार श्रेष्ठ नेकपा एमालेका उम्मेदवार हुन् । गठबन्धनका उम्मेदवार सुदर्शन अधिकारी र एमालेका उम्मेदवार बलराम मानन्धरले १५४ मत बराबरी प्राप्त गरेका थिए। गोलाप्रथा गर्दा अधिकारी विजयी भएका हुन् । 

लेखा सुपरिवेक्षण समितिमा पूरै गठबन्धन विजयी भएका छन् । संयोजकमा डिल्लीप्रसाद आचार्य १५६ मतसहित विजयी भएका छन् । उनका प्रत्याशी गणेशप्रसाद भट्टराईले १४१ मत प्राप्त गरेका थिए । सदस्यमा गठबन्धनका उम्मेदवार पवनराज कर्णजित विजयी भएका छन्। 

महिला सञ्चालक समिति सदस्यमा देवकी तिमल्सिना निर्विरोध निर्वाचित भएकी छिन् । सो पदमा चारजना आवश्यक रहेकोमा एकजनाको मात्र उम्मेदवारी परेको थियो । तीनजनाको कोटा खाली रहेको छ ।

सुझावित समाचार