अस्ट्रेलियामा रहेका नेपाली खेलाडी विवेक थिङ भने उतैबाट प्रतियोगितामा सहभागी हुने
हंगेरीको बुढापेस्टमा बुधबारदेखि ४५औँ बुद्धिचालको ओलम्पियाड सुरु भएको छ । तर, भिसा नपाएपछि नेपाली बुद्धिचाल टोली नयाँदिल्लीमा रोकिएको छ । नयाँदिल्लीमा रहेको हंगेरी दूतावासले बुधबार दिउँसो ३ बजे भिसा दिन नसक्ने जानकारी दिएपछि नेपाली टोली रोकिएको हो । अब नेपाली खेलाडीमध्ये एकजना मात्र प्रतियोगितामा सहभागी हुनेछन् ।
विवेक थिङले अस्ट्रेलियाबाटै हंगेरीको भिसा लगाएका छन् । अब उनले मात्र ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने संघले जनाएको छ । थिङले र्यापिड र ओपनमा खेल्नेछन् । उनी अस्ट्रेलियामा अध्ययन गरिरहेका छन् ।
सुरुमा १० जना खेलाडीसहित २१ सदस्यीय टोलीले बुढापेस्टमा सहभागी हुन नेपालस्थित जर्मन दूतावासमा भिसाका लागि आवेदन दिएको थियो । नेपालमा हंगेरीको दूतावास छैन । हंगेरीसमेत हेर्ने जर्मन दूतावासमा भिसाका लागि टोलीले आवदेन दिएको थियो । तर, जर्मन दूतावासले नेपाली टोलीमा सहभागी खेलाडीको ग्यारेन्टी नभएको र असम्बन्धित व्यक्ति भएका कारण भिसा नदिएको नेपाल बुद्धिचाल संघको स्रोतले जानकारी दिएको छ । ‘दूतावासले खेलाडी तथा अफिसियलको ग्यारेन्टी नभएकाले भिसा दिन अस्वीकार गरेको हो,’ स्रोतले भन्यो, ‘सम्भवतः नेपालबाट प्रतिनिधित्व गर्नेहरू युरोपमै लुक्ने डर दूतावासलाई रहेछ ।’
१० जना खेलाडीले छनोट चरण माध्यमबाट ओलम्पियाडमा स्थान पक्का गरेका थिए । यसमध्ये नौजनाले भिसा पाएनन् । सन् २००४ मा स्पेनमा भएको ओलम्पियाडदेखि नेपालले प्रतियोगितामा भाग लिँदै आएको छ । पहिलोपटक नेपाली टोलीले युरोपको भिसा नपाएको हो ।
असम्बन्धित धेरै
यसपटक संघले धेरै खेलसँग असम्बन्धितलाई हंगेरी लाने प्रयास गरेको संघका एक सदस्यले बताए । ‘यसअघिको ओलम्पियाडमा नेपाली टोलीले सहजै भिसा प्राप्त गरेको थियो । त्यसवेला आयोजकले दिएको कोटाअनुसार खेलाडी र पदाधिकारीले मात्रै भिसा आवदेन दिएका थिए । यसकारण सहजै भिसा पायौँ,’ उनले भने, ‘यसपटकको ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीमा धेरै व्यक्ति संघभन्दा बाहिरका छन्, उनीहरू त्यहाँ लुक्ने डर भयो होला । संघले ती व्यक्तिको ग्यारेन्टी लिएको छैन । यसकारण भिसा नपाएको हो ।’
नेपाल बुद्धिचाल संघका सदस्य राजु ताम्राकारका अनुसार २१ जनाले हंगेरीको भिसाका लागि काठमाडौंस्थित जर्मन दूतावासमा भिसा आवेदन दिएका हुन् ।
खेलाडीबाहेक टोलीमा नेपाल बु्द्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्म लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य राजु ताम्राकारसँगै नारायणदास गमाल, अमृतचन्द्र श्रेष्ठ, प्रेमबहादुर मल्ल, अनिलकुमार रिजाल, माधवप्रसाद प्रधान र चन्द्रमणि गैरे छन् । संघका ती पूर्वसदस्यले युरोपको भिसा लगाउन संघका पदाधिकारीले असम्बन्धित व्यक्तिसँग रकम बुझेको दाबी गरेका छन् । ‘ओलम्पियाड टोलीबाट जाँदा सहजै युरोपको भिसा लाग्ने भन्दै पदाधिकारीले असम्बन्धित व्यक्तिसँग पैसा लिएको सुनेको छु,’ उनको भनाइ छ, ‘यति मात्र नभएर छनोट भएका खेलाडी आफ्नै खर्चमा ओलम्पियाड जाँदै थिए ।’
दिल्लीको प्रयास पनि असफल
भिसा नपाएपछि संघले तत्काल आयोजकलाई सूचना दिएको थियो । आयोजकले नेपालको जर्मनी दूतावासले भिसा नदिँदा तत्कालै नयाँदिल्लीमा प्रयास गर्न सुझाव दिएको संघका सदस्य राजुले बताए । ‘नेपाली टोली पुनः भिसा लिन नयाँदिल्लीमा पुग्यो,’ उनले भने, ‘दिल्लीस्थित हंगेरी दूतावासले नेपाली टोलीलाई वर्किङ आवरमा आउन भनेपछि रातारात यहाँ आएका हौँ ।’
टोलीले दिल्लीमा रहेको हंगेरी दूतावासमा आवश्यक प्रक्रिया पूरा गरेपछि ११ सेप्टेम्बरमा भिसा प्राप्त गर्ने अपेक्षा थियो । तर, बुधबार दिउँसो हंगेरी दूतावासले नै टोलीलाई भिसा दिन अस्वीकार गर्यो । जसकारण नेपाली टोलीले भिसा प्राप्त नगर्न नसकेको राजुले बताए । ‘नेपालमा हंगेरीको दूतावास नभएका कारण दिल्लीस्थित हंगेरीको दूतावासमा सहज भिसा प्राप्त गर्न अध्यक्ष र कोषाध्यक्षले समन्वय गरिरहेका थिए, ’ उनले भने ।
२४औँ राष्ट्रिय प्रतियोगिताबाट खेलाडी छनोट
महासंघले २४औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पहिलो भएका राजन सुवेदी, दोस्रो हुने सिएम सुश्रुत दाहाल र तेस्रो स्थानमा रहेका एफएम क्षितिज भण्डारीलाई ओलम्पियाडका लागि छनोट गरेको थियो । उनीहरूसँगै पूर्व नेपाल च्याम्पियन सिएम रूपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङसमेत पाँच पुरुष खेलाडी हंगेरी पठाउने निर्णय गरेको थियो । महिलातर्फ राष्ट्रिय विजेता सिन्दिरा जोशी, दोस्रो स्थानकी कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र पूर्वच्याम्पियन सुजना लोहनी गरी पाँच खेलाडीलाई छनोट संघले गरेको थियो । डब्लुएफएम सुजना लोहनी सहभागी नहुने भएपछि रिया श्रेष्ठले मौका पाएकी थिइन् ।