पछिल्ला ६ कारोबार दिनमा सेयर बजार परिसूचक नेप्से २१९.९९ अंकले घटेर २६१०.२१ विन्दुमा आइपुगेको छ । साना लगानीकर्ताहरूले अत्यासमा सेयर बेच्न थालेपछि बजार निरन्तर ओरालो लागेको जानकारहरू बताउँछन् ।
सरकार परिवर्तनको अफवाह फैलाएर साना लगानीकर्ताहरूमा त्रासदी बढाउन केही कारोबारीहरूको समूह सक्रिय हुँदा बजार घटेको लगानीकर्ता छोटेलाल रौनियारको बुझाइ छ । नयाँ सरकार गठन भएपछि करिब एक हजार अंकले बढिसकेको बजारमा पछिल्लो समय सरकार परिवर्तन हुने हल्ला पिटाएर साना लगानीकर्ताहरूमा अत्यास बढाइरहेको उनले बताए ।
उनले भने, ‘नयाँ सरकार गठन भएपछि बजार बढ्नलाई महत्वपूर्ण भूमिका निर्वाह गर्ने आधार यथावत् छन् । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता अधिक नै छ । ब्याजदर घटेर एकल अंकमा आएको छ । तर, केही सट्टेबाजहरूले सरकार नै ढल्ने हल्ला फैलाउँदै साना लगानीकर्ताहरूमा अत्यास बढाउँदा अहिले बजार घटेको हो । बजार घट्नुपर्ने अरू कुनै ठोस कारण छैन ।’
परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणका क्रममा पाएको आतिथ्यता र प्रधानमन्त्री केपी ओलीले ‘अबको प्रधानमन्त्री महिला हुनुपर्छ,’ भनेर दिएको अभिव्यक्तिलाई लिएर सरकार परिवर्तनको हल्ला फैलाइएको उनको भनाइ छ । सरकारको स्थायित्वको सन्देशले बढेको बजारमा यस्ता हल्लाले नकारात्मक अवस्था सिर्जना गरेको उनले बताए ।
परिसूचक घटे पनि परिमाणात्मक हिसाबले सेयर कारोबार न्यून देखिन्छ । बुधबार २२.७३ अंकले घटेको बजारमा कारोबार ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ मात्रै छ । कित्ता हेर्ने हो भने पनि एक करोड ५४ लाख २८ हजार किनबेच भएको छ । यसले ठुला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाको विश्लेषण छ । उनले भने, ‘परिसूचक निरन्तर घटे पनि कारोबार कम देखिन्छ । यसले साना लगानीकर्ताहरू आत्तिएर सेयर बेच्ने र ठुला लगानीकर्ता पर्ख र हेरमा बसेको अनुमान लगाउन सकिन्छ । साना लगानीकर्ता आत्तिँदा लाभ लिने भनेको ठुला र परिपक्व लगानीकर्ताहरूले हो ।
फाइनान्स, निर्जीवन बिमा र व्यापारमा वृद्धि
बुधबार घटेको बजारमा पनि फाइनान्स, निर्जीवन बिमा र व्यापार समूहका परिसूचक बढेका छन् । फाइनान्स समूहको परिसूचक ०.४३ प्रतिशत, निर्जीवन बिमा ०.०२ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ । बैंकिङ समूहको परिसूचक ०.९४ प्रतिशत, विकास बैंक समूह १.०२ प्रतिशत र लघुवित्त वित्तीय संस्था समूहको परिसूचक ०.५४ प्रतिशतले घटेको छ । जीवन बिमा समूहको परिसूचक १.८५ प्रतिशतले घटेको छ । बजार पुँजीकरण ४१ खर्ब ५० अर्ब ४४ करोड ७८ लाख पुगेको छ । सर्वसाधारण लगानीकर्ताहरूको सेयर मूल्यको प्रतिनिधित्व गर्ने फ्लट मार्केट क्यापिटलाइजेसन भने १४ खर्ब ५७ अर्ब कायम छ ।