दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप आयोजना हुने भएको छ। बागमती योग खेलकुद समितिले भदौ २९ गते तारकेश्वर नगरपालिकासँगको समन्वयमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो।
च्याम्पियनसिपमा सहभागी हुने टोलीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रममा रहेर योगासन प्रस्तुत गर्नुपर्ने आयोजक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
एकल प्रतिस्पर्धा र रिदमिक समूह गरेर दुई फरक विधामा हुने यो प्रतिस्पर्धामा ९ देखि ५० वर्षमाथिका विभिन्न उमेरका फरकफरक समूहबीच खेल हुनेछ।
पुरुष र महिलाको छुट्टाछुट्टै आयोजना हुने यो खेलका लागि ३६२ खेलाडी सहभागी हुने बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष एवं आयोजक कमिटी संयोजक केदारनाथ बस्ताकोटीले जानकारी दिए।
तारकेश्वर नगरपालिका– ८ स्थित टुसाल मल्टी भेन्युमा शनिबार बिहान ७ बजेबाट सुरु हुने यो प्रतियोगितामा इच्छुकलाई प्रतिस्पर्धीको रूपमा छनाेट गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
योगलाई आसनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनु आफूहरूको उद्देश्य रहेको योग खेलकुद समितिका केन्द्रीय महासचिव चूडामणि खरेलले बताए। योगले पनि ओलम्पिकको मान्यता पाउने गरी अगाडि बढेको र त्यसका लागि आफूहरूको निरन्तर प्रयास जारी रहेको उनले बताए।