सल्यानमा भेटियो स्क्रब टाइफस, नौजना संक्रमित

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण
सल्यानमा भेटियो स्क्रब टाइफस, नौजना संक्रमित

मुसामा लाग्ने माइट नामक किरा

सल्यानमा पहिलोपटक स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालमा उपचारका लागि आएका नौजनामा संक्रमण पुष्टि भएको हो।

भदौ महिनामा मात्रै नौजनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। आठजना महिला र एकजना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढामगरले जानकारी दिए।

उनका अनुसार शारदा नगरपालिकाका चार, बागचौर नगरपालिकाका तीन तथा  छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक–एकजनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये चारजना १३ वर्षमुनिका बालबालिका रहेका छन्। यसअघि जिल्लामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन।

बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिएको अस्पतालले जनाएको छ। समयमा नै  उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढामगरको भनाइ छ। डा. बुढामगरले सुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गर्नुपर्ने अवस्था निम्तिने बताए।

उनका अनुसार पाँचदेखि १० दिन औषधि प्रयोग गरे बिरामी पूर्ण रूपमा निको हुन्छन्। मुख्यतः मुसाले टोकेपछि यो रोगले आक्रमण गर्छ। मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ।

सुझावित समाचार