मकवानपुर जिल्ला लिगः सतप्रतिशत जितसहित डाँफे शीर्ष स्थानमा

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता न्यू डाँफे क्लवले यस वर्ष पनि उत्कृष्ट खेल प्रस्तुत गरिरहेको छ ।

४ वटा खेल खेलेको डाँफेले सतप्रतिशत जितसहित १२ अंक जोडेको छ । समूह ख मा रहेको डाँफेसहित गोर्खा ब्वाइजले पनि ४ वटै खेल जितिसकेको छ ।

निरन्तर जित निकाल्ने क्रममा डाँफेले मंगलबार पिप्ले युवा क्लवलाई ३–२ गोलले हरायो। डाँफेका लागि सुसान्त तामाङ, किसन थापा मगर र राजिव डिम्डुङले गोल गरे । पहिलो हाफमै २ गोलले पछि परेको पिप्लेले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

दोस्रो हाफको सुरुवातमै प्रविण श्रेष्ठ र सम्पूर्ण नगरकोटीले पिप्लेका लागि गोल गरेका थिए । तर, ७० औं मिनेटमा डाँफेका लागि राजिव डिम्डुङले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच डाँफेका किसन थापा मगर घोषित भए ।

१८ गोल गरेको डाँफेले हालसम्म ३ गोल मात्र व्यहोरेको छ । उद्घाटन खेलमा महाबीर क्लवसँग ७–० जित निकाल्दै आक्रमक सुरुवात गरेको डाँफेले दास्रो खेलमा हटौंडा फुटबल एकेडेमीलाई ३–० ले र तेस्रो खेलमा इन्टरनेट सिटीलाई ५–१ ले हराएको थियो ।

मंगलबारै भएको खेलमा एफसी मल्टिभिजनले हटिया स्पोर्टस् एकेडेमीलाई ४–० ले हराएको छ । मल्टिभिजनले पनि निरन्तर तीन खेलमा जित निकाल्दै ९ अंक जोडिसकेको छ । मल्टिभिजनले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको हो । मल्टिभिजनका लागि जेनिस थपलियाले ह्याट्रिक गर्दा सुमन लो लामाले एक गोल गरेका हुन् ।

सिमलटार खेल मैदानमा भएको खेलमा न्यू कम्बाइन क्लव र एफसी नामटार विजयी भएको छ । कम्बाइनले सानोपोखरा क्लवलाई १–० ले हराएको हो । कम्बाइनका निशान न्यासुरले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच कम्बाइनका सुरज थिङ घोषित भए ।

अर्को खेलमा एफसी नामटारले हेटौंडाको ७ नम्बर फुटबल टिमलाई १–० ले हराएको हो । नामटारका लागि सविन गोलेले निर्णायक गोल गरे । गोले नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् । जारी प्रतियोगितामा बुधबार पनि ४ खेल हुनेछ ।

जिल्ला लिगको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । लिगमा सहभागी २८ क्लवलाई ४ समूहमा विभाजन गरी अहिले लिग चरणको खेल सञ्चालन गरिरहेको छ ।

सुझावित समाचार