ललितपुरको ताल्छीखेलमा होलिस्टिक उपचारात्मक सेवा दिँदै आएको स्वस्तिक पोलिक्लिनिकले अस्पताल सञ्चालनमा ल्याएको छ। विगत दुई वर्षदेखि बालबालिका र जेष्ठ नागरिकलाई विभिन्न सेवा दिँदै आएको क्लिनिक अस्पतालको रूपमा सञ्चालनमा आएको हो।
२४सै घण्टा इर्मेजेन्सी सेवासहित ओपिडीसमेत सञ्चालनमा ल्याएको अस्पतालले पाँच शय्याबाट सेवा सुरु गरेको जनाएको छ। अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, अन्कोलजी, गाइनोकोलीलगायत २१ वटा विधामा ओपिडी सुरु गरेको हो।
यसका साथै अस्पतालले यसअघि सञ्चालनमा ल्याइरहेका होलिस्टिकका सेवाहरूसमेत बढाउँदै लाने जनाएको छ। यसअघि क्लिनिकले स्वास्थ्य प्रवर्द्धन, रोकथाम तथा उपचारात्मक सेवामा विभिन्न शैक्षिक संस्थाहरूमा स्कुल हेल्थ कार्यक्रम चलाउँदै आएको थियो। यसबाहेक, होलिस्टिकअन्तर्गत शिविर र वडा नं १४ को समन्वयमा आइतबार, सोमबार र बुधबार वडालाई निःशुल्क ओपिडी सेवा दिँदै आएको थियो।