विराटनगरमा चारदिने कृषि प्रदर्शनी मेला आयोजना हुने भएको छ। उद्योग वाणिज्य संघ कोशी प्रदेशको मुख्य आयोजनामा २७ देखि ३० भदौसम्म कृषि प्रदर्शनी मेला आयोजना हुने भएको हो।
कृषि प्रवर्द्धनका लागि मेलामा विभिन्न प्रकारका १५० भन्दा बढी प्रदर्शनी स्टलहरू रहने र नि:शुल्क प्रवेशको व्यवस्था गरिने उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए। अध्यक्ष राउतका अनुसार आधुनिक कृषि प्रविधि, औजार, मल, बिउविजन, विषादी, व्यावसायिक खेती प्रणाली, खाद्यवस्तु उत्पादन, कृषि अनुसन्धान, भेटेरिनरी आदिबारे वास्तविक कृषकलाई जानकारी गराउनका लागि पहाडी जिल्लाबाट संस्थागत रूपमा कृषि प्रदर्शनी अवलोकन गर्न आउनेहरूलाई खाना र आवासको नि:शुल्क व्यवस्था गरिनेछ।
कटहरी गाउँपालिकामा सरकारले निर्माण गरेको कृषि थोक बजारपरिसरमा हुने मेलामा भारतको बिहार राज्यका कृषिमन्त्री, विभागीय अधिकारीसहित विज्ञहरूको पनि सहभागिता हुनेछ। मेलामा कलकत्ता र बिहारका २० भन्दा बढी प्रदर्शनीस्थलहरू रहनेछ भने नेपालका कृषिविज्ञहरूले प्रस्तुति दिनेछन्।
मेलामा जलवायु परिवर्तनले कृषिमा पर्ने प्रभावबारे पनि अन्तरसंवाद हुनेछ। साथै, नेपाल र भारतका कृषि व्यवसायीबिच ‘बिटुबी’ कार्यक्रमसमेत हुनेछ। कृषि प्रदर्शनी मेला सफल बनाउन कोशी प्रदेश सरकार, स्विस सरकार विकास सहयोग कार्यक्रम, नेपाल कृषि बजार कार्यक्रम, सहज परियोजना र कटहरी गाउँपालिकालगायतले सहकार्य गरेका छन्।