नारायणी अस्पतालमा ६ शय्याको अन्कोलोजी वार्डको उद्घाटन

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा ६ शय्याको क्यान्सरको उपचार हुने अन्कोलोजी वार्डको उद्घाटन गरेका छन्।

मंगलबार एक कार्यक्रमबिच मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताल र नारायणी अस्पतालबिच विस्तारित ६ शय्याको अन्कोलोजी वार्डको उद्घाटन गरेका हुन्।

सरकारी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि २०८१ अनुसार प्रत्येक प्रदेशको एक अस्पतालमा अन्कोलोजी वार्ड स्थापना गर्ने लक्ष्यअनुसार नारायणी अस्पतालमा यो सेवा सञ्चालनमा ल्याइएको बताए।

मन्त्री पौडेलले अस्पतालको सेवामूलक विकासमा र बिरामीको उपचारमा लगनशील भएर लाग्न र बिरामीको मुहारमा खुसी ल्याउने गरी काम गर्न स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई निर्देशन दिए।

नारायणी अस्पतालमा करिब एक सय चिकित्सक र स्वास्थ्यकर्मी भर्ना गर्न आवश्यक भए पनि राज्यको आर्थिक अवस्थाका कारण कर्मचारी भर्ना गरेर भार थप्ने क्षमता नरहेको बताए। बिस्तारै अस्पतालको भौतिक संरचना आवश्यकताअनुसार परिवर्तन गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

अहिले विस्तारित अन्कोलोजी वार्ड सञ्चालनमा आएको तामझामको प्रचार गराएर आगामी दिनमा समस्या देखाएर बन्द नगर्नसमेत मन्त्री पौडेलले निर्देशन दिए। साथै उनले नारायणी अस्पतालको एमआरआई मेसिन लामो समयदेखि बन्द रहेको उल्लेख गर्दै एक हप्ताभित्र सञ्चालनमा ल्याउन प्रशासनलाई निर्देशन दिए।

नारायणी अस्पतालमा अहिले अन्कोलोजी वार्ड सञ्चालन गर्न भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको नेतृत्वमा पाँचजनाको टोली खटिएको छ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य श्याम पटेलले नारायणी अस्पतालको भौतिक संरचना जीर्ण भएकाले निर्माणको क्रममा अदालतमा दर्ता भएको विचाराधीन मुद्दा यथाशीघ्र टुंग्याउन अदालतलाई आग्रह गरे।

सुझावित समाचार