८८औँ मिनेटसम्म बराबरीतर्फ उन्मुख प्रतिस्पर्धामा क्रिस्टियानो रोनाल्डोले स्कटल्यान्डविरुद्ध गरे विजयी गोल
यसै साता मात्र करिअरको नौ सय गोल गरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू फिट रहेको प्रमाणित गरेका छन् । रोनाल्डोले युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आइतबार राति स्कटल्यान्डविरुद्ध निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । पोर्चुगलले स्कटल्यान्डलाई २–१ ले हराएको हो । खेल सकिन एक मिनेट बाँकी रहँदासम्म पोर्चुगल र स्कटल्यान्ड १–१ को बराबरीमा थिए ।
खेलको अन्तिम मिनेटमा रोनाल्डोले डिबक्सभित्र चलाखीपूर्ण रूपमा गोल गरे । पहिलो हाफको सातौँ मिनेटमा नै अप्रत्याशित रूपमा स्कटल्यान्डले १–० को अग्रता लियो । स्कट एमसीले स्कटल्यान्डलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेको थियो ।
तर, पोर्चुगलले स्कटल्यान्डको बलियो डिफेन्स तोड्न सकेको थिएन । पोर्चुगलले दोस्रो हाफमा पुनरागमन गर्यो । खेलको ५४औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा पोर्चुगल १–१ बराबरीमा पुग्यो । खेलको ८८औँ मिनेटमा रोनाल्डोले विजयी गोल गरेका हुन् । उनको यो करिअरको ९ सय १ गोल हो । स्कटल्यान्ड इतिहासकै खराब लयमा छ । स्कटल्यान्ड पछिल्ला आठ महत्वपूर्ण खेलमा जितविहीन छ ।
प्रतिस्पर्धात्मक खेल
पोर्चुगल र स्कटल्यान्डबिचको खेल प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले डिफेन्स लाइन निकै बलियो बनाएका थिए । पोर्चुगलका बर्नार्डो सिल्भा र फर्नान्डिसले स्कटल्यान्डको डिफेन्स तोड्ने निकै प्रयास गरे । तर, स्कटिस खेलाडीहरूले उनीहरूका प्रयासलाई पहिलो हाफमा सफल पार्न दिएनन् । अघिल्लो खेलमा दुई पेनाल्टी व्यहोरेको स्कटल्यान्डले पोर्चुगलविरुद्ध डिफेन्समा निकै ध्यान दिएको थियो । स्कटल्यान्डले मिडफिल्ड पक्ष बलियो बनाउँदा फिनिसिङले त्यसलाई गतिलो साथ दिन सकेन ।
एकआपसमा सटिक पास खेल्दा फिनिसिङ लाइनसम्म गतिलो बल पास उपलब्ध नहुँदा स्कटल्यान्डले पहिलो हाफमा गोल अवसर गुमाएको थियो । स्कटल्यान्डले पछिल्लो ६ खेलमा ८५औँ मिनेटपछि पाँचपटक गोल खाएको छ । अन्तिम समयमा स्कटल्यान्डको डिफेन्स कमजोर बन्ने गरेको छ । यसैको फाइदा रोनाल्डोले उठाएका हुन् । अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डमाथि ४–१ को सानदार जित निकाल्यो । खेलको २०औँ मिनेटमा रोबिनले नोर्मान्ड रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा सीमित भएको थियो । त्यसपछिका समयमा स्पेनले १० खेलाडीमा रहेर उत्कृष्ट प्रदर्शन गर्यो । स्विट्जरल्यान्डले स्पेनविरुद्ध फाइदा लिन सकेन ।