बैंक भन्छ– सडक, पानी र बिजुली नदिएसम्म शाखा चलाउन गाह्रो छ
आवश्यक पूर्वाधारविनै अर्थ मन्त्रालयले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा सञ्चालनमा ल्याउन दबाब दिएको छ । एभरेष्ट बैंकले गाउँपालिकामा शाखा कार्यालयको भवन निर्माण गरिसके पनि सडक, बत्ती र पानीको सुविधा नभएको भन्दै सञ्चालनमा आउन सकेको छैन । तर, अर्थ मन्त्रालयले भने यही सातामा शाखा उद्घाटनको तयारी भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता महेश भट्टराईले शाखा उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताए ।
उनले भने, ‘शाखा कार्यालयको भवन उद्घाटन यही साता तोक्ने तयारी छ ।’ शाखा सञ्चालन ल्याउन तत्काल बैंक तयार नभएपछि राजस्व सचिव दिनेशकुमार घिमिरेले बिहीबार बिहान साढे नौ बजे छलफलका लागि बैंकका अधिकारीहरूलाई बोलाएका छन् ।
अर्थ मन्त्रालयले यही सातामा शाखा उद्घाटनका लागि ताकेता गरिरहेको साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले जानकारी दिए । विद्युत् नपुगेकाले बुधबार काठमाडौंबाट सोलार प्लान्ट मगाएर पूर्वाधारको जोडजाम गर्न लागेको अध्यक्ष बोहराको भनाइ छ । उनले भने, ‘बैंकको शाखा उद्घाटनको तयारी भइरहेको छ । बुधबार बिजुलीका लागि काठमाडौंबाट पाँच किलोवाट क्षमताको सोलार प्लान्ट मगाइएको छ ।’
शाखा उद्घाटनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति रहने तय भइसकेको छ । बैंकले गाउँपालिकाको १ नम्बर वडामा कार्यालय भवन स्थापना गरिसकेको छ ।
बाटो नपुगेको ठाउँमा हेलिकोप्टरबाट सामान लगेर भवन निर्माण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए । बैंकले अधिक खर्च गरेर साइपालमा शाखा कार्यालयको भवन निर्माण गरे पनि सरकारले पूर्वाधार नबनाइदिँदा कठिनाइ भएको उनको भनाइ छ ।
उनले भने, ‘हामीले सडक, बत्ती र पानी नभएको ठाउँमा हेलिकोप्टरबाट सामग्री पुर्याएर शाखा कार्यालयको भवन बनायौँ । स्टाफको पनि व्यवस्था गरिसक्यौँ । तर, सरकारले अहिलेसम्म सडक, बिजुली र पानीको व्यवस्था गरिदिएको छैन । हाम्रो शाखा सञ्चालनको खर्च पनि उठ्नुपर्यो । बत्ती दिए भोलि नै शाखा चलाउँछौँ । भवन निर्माण सबै तयार छ ।’
देशभरका सात सय ५३ स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा मात्रै बैंकको शाखा पुगेको छैन । गाउँपालिकाको केन्द्रीय कार्यालय वडा नम्बर ३ मा छ । अहिले शाखाको भवन रहेको स्थान वडा नम्बर १ सम्म पुग्न हिँडेर एक दिन लाग्ने पालिका अध्यक्ष बोहराले जानकारी दिए । पालिकाको सम्पूर्ण काम अहिले बझाङको सदरमुकाम चैनपुरमा रहेको सम्पर्क कार्यालयबाट भइरहेको छ । जहाँबाट बैंकको नयाँ भवनसम्म पुग्न हिँडेर तीन दिन लाग्ने उनले बताए ।
पूर्वाधारविना शाखा चलाउन सकिँदैन : सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक
हामीले सडक, बत्ती र पानी नभएको ठाउँमा हेलिकोप्टरबाट सामग्री पुर्याएर शाखा कार्यालयको भवन बनायौँ । स्टाफको पनि व्यवस्था गरिसक्यौँ । तर, सरकारले अहिलेसम्म सडक, बिजुली र पानीको व्यवस्था गरिदिएको छैन । हाम्रो शाखा सञ्चालनको खर्च पनि उठ्नुपर्यो । बत्ती दिए भोलि नै शाखा चलाउँछौँ । भवन निर्माण सबै तयार छ ।
काठमाडौंबाट सोलार मगाएका छौँ : मानबहादुर बोहरा, अध्यक्ष, साइपाल गाउँपालिका बझाङ
तयारी भइरहेको छ । बुधबार बिजुलीका लागि काठमाडौंबाट पाँच किलोवाट क्षमताको सोलार प्लान्ट आउँदै छ । बैंकले वडा नम्बर १ मा कार्यालयको भवन स्थापना गरिसकेको छ । गभर्नरको उपस्थितिमा यही महिना (भदौ) शाखा उद्घाटनको तयारी छ । अर्थ मन्त्रालयले एक हप्ताभित्रै सञ्चालनमा ल्याउन ताकेता गरिरहेको छ । तर, मिति तय भइसकेको छैन ।