पीडितहरूले जलाए पुत्ला
न्याय माग्दै १०५ दिनदेखि आन्दोलनरत सहकारीपीडितलाई नै गम्भीर आक्षेप लगाएर अभिव्यक्ति दिने सहकारीमन्त्री बलराम अधिकारीविरुद्ध पीडितहरूले आन्दोलन चर्काउने भएका छन् । उनीहरूले बिहीबार शान्ति बाटिकामा मन्त्री अधिकारीको पुत्ला जलाउँदै राजीनामा माग गरेका छन् ।
मन्त्रीको राजीनामा हाम्रो अन्तिम बटमलाइन : कुशलभ केसी, अध्यक्ष, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघ
समस्या समाधान गर्नुपर्ने सहकारीमन्त्रीले उल्टै पीडितहरूमाथि मिथ्या आरोप लगाए । त्यसको घोर विरोध गर्दै हामीले उनको पुत्ला दहन गरेका हौँ । हामीले मन्त्रीको राजीनामा माग गरेका छौँ । आन्दोलन रोकिन्न, अझ सशक्त ढंगले अघि बढ्छ । मन्त्रीको राजीनामा हाम्रो अन्तिम बटमलाइन हो ।
मन्त्री अधिकारीले बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बैंकको पैसा सहकारीमा लगाएर नाफा खाइरहेकाहरू पीडितको नाममा आन्दोलित बनेको आरोप लगाएका थिए । ‘अहिले आन्दोलनमा उत्रिनेहरू बैंकबाट कम ब्याजदरमा पैसा लिने र सहकारीमा लगेर राख्ने खालका छन् । उनीहरू बैंकको ऋण र सहकारीको बचतको बिचमा बसेर नाफा खाइरहन्छन् । अहिले आन्दोलन त्यस्ता व्यक्तिले गरिरहनुभएको छ । अगुवाइ गर्न पाइने र पीडितबाट फाइदा लिने प्रवृत्ति देखिएको छ,’ उनको भनाइ थियो ।
न्याय दिलाउनुपर्ने जिम्मेवारी सम्हालेका मन्त्रीले नै गम्भीर आरोप लगाएपछि सहकारीपीडितले बिहीबार अपराह्न करिब एक घण्टा शान्ति बाटिकामा विरोध प्रदर्शन गरे । विरोधमा उत्रिएका महासंघका अध्यक्ष कुशलभ केसीले मन्त्री अधिकारीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पुत्ला दहन गरिएको बताए । ‘आमरण अनशनपछि उनै मन्त्रीसँग हाम्रो आठबुँदे सहमति भयो । यसबिचमा स्वास्थ्य उपचारका लागि समेत खर्च नपाई धेरै बचतकर्ताले ज्यान गुमाए । धेरै बेघरबार भए । तर, सहमति कार्यान्वयन भएन,’ उनले भने, ‘विरोधस्वरूप हामी १०५ दिनदेखि आन्दोलनमा छौँ । तर, मन्त्री समस्या समाधान गर्नुको सट्टा उल्टै मिथ्या आरोपमा उत्रिए । सोही विरोधमा हामीले उनको पुत्ला दहन गरेका हौँ ।’
विरोधमा उत्रिएका उनीहरूले मन्त्री अधिकारीको राजीनामा पनि मागेका छन् । मन्त्री अधिकारीको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै उनीहरूले राजीनामा माग गरेका हुन् । ‘हामीले मन्त्रीको राजीनामा माग गरेका छौँ । आन्दोलन रोकिन्न, अझ सशक्त ढंगले अघि बढ्छ । अब मन्त्रीको राजीनामा हाम्रो ‘अन्तिम बटमलाइन’ हो,’ महासंघका अध्यक्ष केसीले भने ।
सहकारीबाट बिचल्लीमा परेका पीडितहरू १०५ दिनदेखि आन्दोलनमा छन् । काठमाडौंको शान्ति बाटिकामा नियमित अनशनसहित धर्ना दिँदै आएका छन् । तर, उनीहरूको माग सम्बोधन गर्नुको सट्टा विभागीयमन्त्रीले नै अशोभनीय आरोप लगाएका छन् । यसअघि सरकार र पीडितबिच पटक–पटक वार्ता र सम्झौता भए पनि माग भने पूरा भएका छैनन् ।
केसीका अनुसार मुलुकभर १४ लाखभन्दा धेरै सहकारीपीडित छन् । उनीहरू ३५७ सहकारीका पीडित हुन् । ती सहकारीमा उनीहरूको दुई खर्ब ७५ अर्ब रकम डुबेको र उनीहरू अहिले घर न घाटको अवस्थामा पुगेको केसीको भनाइ छ । तर, सरकारले उल्टो सञ्चालकलाई कारबाही गरेर पीडितको पैसा फिर्ता गर्नुको सट्टा आक्षेप लगाएपछि उनीहरू आक्रोशित बनेका छन् ।
समस्या समाधान गर्नुपर्ने सहकारीमन्त्रीले उल्टै पीडितहरूमाथि मिथ्या आरोप लगाए । त्यसको घोर विरोध गर्दै हामीले उनको पुत्ला दहन गरेका हौँ । हामीले मन्त्रीको राजीनामा माग गरेका छौँ । आन्दोलन रोकिन्न, अझ सशक्त ढंगले अघि बढ्छ । मन्त्रीको राजीनामा हाम्रो अन्तिम बटमलाइन हो ।