उपनिर्वाचनमा केन्द्रित हुने एकीकृत समाजवादीको निर्णय

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीले उपनिर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । महाधिवेशनपछि पार्टी कार्यालय आलोकनगरमा पहिलोपटक आइतबार बसेको स्थायी कमिटी बैठकले सम्पूर्ण ध्यान उपनिर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका रिक्त पदमा आगामी मंसिरमा उपनिर्वाचन गर्ने तयारी छ । उपनिर्वाचनका लागि एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपाध्यक्ष, उपमहासचिव र सचिव रहेको मूल कमिटी गठन गरेको छ । स्थायी समिति बैठकले प्रदेशगत तयारीका लागि कोशीमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशमा उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमतीमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकीमा सचिव श्रीनाथ बराल, लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिममा उपाध्यक्ष भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ । 

‘बैठकमा उपनिर्वाचनसम्बन्धी विषयमा छलफल भयो । महाधिवेशनले पारित गरेका दस्ताबेजका साथै केन्द्रीय कमिटीले गरेका निर्णय कार्यकर्ता र जनताबिच पु¥याउने निर्णय भएको छ । प्रदेश, जिल्ला हुँदै पालिकास्तरमा कमिटी निर्माण र प्रभावकारी ढंगले सञ्चालन गर्दै उपनिर्वाचनमा केन्द्रित हुने निर्णय भएको छ,’ सचिव बरालले भने । बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोग हेर्ने गरी वरिष्ठ उपाध्यक्ष पाण्डे र उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईलाई जिम्मा दिने निर्णय गरेको छ । उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्ने उपमहासचिव चौधरीले बताए । ‘एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्दै छौँ । हाम्रो पार्टीको हैसियत उपनिर्वाचनमा देखिनेछ,’ उनले भने ।

अध्यक्ष माधवकुमार नेपालले उत्साहपूर्वक कार्यक्षेत्रमा जान र सबैलाई समेटेर अगाडि बढ्न स्थायी समिति सदस्यहरूलाई निर्देशन दिएका छन् । ‘उत्साहपूर्वक उच्च मनोबल लिएर कार्यक्षेत्रमा खटिनुहोला । सबैलाई समेटेर, उचित जिम्मेवारी दिँदै अघि बढ्नुहोला,’ नेपालको भनाइ उद्धृत गर्दै बरालले भने । केन्द्रीय आयोगहरूलाई पूर्णता दिन अर्को बैठकमा नाम सिफारिस गर्न पनि नेपालले स्थायी समिति सदस्यहरूलाई आग्रह गरेका छन् । तत्कालका लागि एकीकृत समाजवादीले २४ सदस्यीय पदाधिकारीलाई स्थायी समितिको मान्यता दिएको छ । 

अध्यक्ष नेपाल रुसबाट फर्केपछि बस्ने बैठकले स्थायी कमिटीलाई पूर्णता दिनुका साथै केन्द्रीय निकाय गठन र नेताहरूको कार्यविभाजन गर्ने एकीकृत समाजवादीको तयारी छ । उनी मल्टी मोलारिटी फोरममा सहभागी हुन आइतबार राति रुस प्रस्थान गरेका छन् । ३–६ सेप्टेम्बरसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ ।
 

सुझावित समाचार