वन कार्यालयले थाल्यो बँदेल सिकार प्रकरणको अनुसन्धान

हाजिरी जमानीमा छाडिएकाहरू वनको हिरासतमा

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

डिभिजन वन कार्यालयले सप्तरीमा बँदेलको सिकार प्रकरणको अनुसन्धान थालेको छ । १२ भदौ राति हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा बँदेल मारेर को.२त ६९ नम्बरको ट्र्याक्टरमा लोड गरेको अवस्थामा पक्राउ परेका पूर्वडिआइजी ज्ञानविक्रम शाह, सइ सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जनामाथि वनले अनुसन्धान अगाडि बढाएको हो ।

डिभिजन वनले सचिन्द्र यादवलाई अनुसन्धान अधिकृत तोकेको छ । यादवले प्रहरीले पक्राउ गरेकामध्ये नौजना वनले बुझेको बताए । ‘उहाँहरूलाई सबडिभिजन कार्यालय कञ्चनपुरमा राखिएको छ,’ उनले भने, ‘सोमबारबाट अनुसन्धानको प्रक्रिया बढ्छ ।’

बँदेल बेवारिसे अवस्थामा बरामद भएको भन्दै १४ भदौमा डिभिजन वनलाई प्रहरीले मुचुल्का बुझाएको थियो भने पक्राउ परेका १० जनालाई हाजिरी जमानीमा छाडेको थियो । तर, हातहतियार लिएर बँदेल मार्नेलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि प्रहरीले आइतबार नौजनालाई वन कार्यालयमा बुझाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले तीन दिनको अनुसन्धानपछि थप अनुसन्धानका लागि वनलाई बुझाइएको बताए । हनुमाननगर कंकालिनी नगरपालिका– ८ का पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव भने हाजिर भएपछि वनलाई बुझाइने उनले बताए । 

वनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज र आरक्षमा भएको वन्यजन्तुको सिकार घटनामा निकुञ्ज विभाग र मुद्दामा तथा त्यसबाहिरको हकमा डिभिजनल वन कार्यालयले जिल्ला अदालतमा मुद्दा चलाउँछन् । वन्यजन्तु संरक्षण ऐनअनुसार दफा २६ (३) अनुसार संरक्षित क्षेत्रभित्र पनि अनुज्ञापत्र नलिई वन्यजन्तु सिकार गरी मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । डिभिजन वनले बँदेलसहितका वन्यजन्तु चोरीसिकार घटनामा यही कसुरमा मुद्दा चलाउने गर्छ ।

पोस्टमार्टमविनै गाडिएको बँदेल चार दिनपछि खाल्टोबाट निकालियो
पोस्टमार्टमविनै गाडिएको बँदेल चार दिनपछि खाल्टोबाट निकालिएको छ । गत बिहीबार साँझ सबडिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार बिहान खाल्टोबाट निकालिएको सप्तरीका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए । बँदेलको पोस्टमार्टका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजमा पठाएको उनले बताए । 

बँदेलको सिकार गरी ट्र्याक्टरमा लोड गरिएको अवस्थामा प्रहरीले जफत गरेको थियो । कोे.२त ६९ नम्बरको ट्र्याक्टर र प्र ३–०१– ०२२ च ६८५५ नम्बरको स्कार्पियो सिकारमा प्रयोग भएको थियो । प्रहरीले घटनास्थलबाट २२ क्यालिबरको एउटा राइफल, दुइटा म्यागजिन, १५ राउन्ड गोली, तीनवटा बाइनाकुलर, एक ट्राइपोर्ट, एक–एक थान फलामको हथौडा र खुर्पा पनि बरामद गरेको थियो । घटनामा पूर्वडिआइजी ज्ञानविक्रम शाह, नेपाल प्रहरीका बहालवाला सइ सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, इटहरी– २ का प्रदीप लिम्बू, राजविराज नगरपालिका– ७ का रविन दास, तिरहुत– २ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी– २ का जनार्दन राउत, वडा नम्बर ५ का ओमशंकर प्रसैला, वडा नम्बर १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादव पक्राउ परेका थिए । 
 

सुझावित समाचार