यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ। नेप्से परिसूचक ५३.६३ अंकले घटेर दुई हजार ६ सय ९५.९३ को विन्दुमा कायम भएको हो।
आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता सेयर एक लाख ३० हजार ६ सय ३२ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
म्युचुअल फन्ड ०.८० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी वित्त समूह ३.४४, होटेल तथा पर्यटन २.९८ र बैंकिङ २.३४ प्रतिशतले घटेको छ। त्यसैगरी, विकास बैंक १.८५, जलविद्युत् २.४०, लगानी १.३३, जीवन बिमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, लघुवित्त १.८८, निर्जीवन बिमा १.२३, व्यापार ०.१९ र अन्य समूह १.०४ प्रतिशतले घटेको छ।
आज सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको रु. ५२ करोड ३१ लाख १० हजार ४९२ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको आठ लाख चार हजार आठ सय कित्ता सेयर कारोबार भएको छ। रासस