भारतको समस्तीपुरमा बाराको बारागढी नगरपालिकाका तीर्थालु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। बारागढी गाउँपालिका–३, मुर्कीपालिया गाउँका ६२ वर्षीय किशोरीराम महरा चमारको उपचारको क्रममा पटनामा मृत्यु भएको हो।
बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवालका अनुसार घाइते किशोरीको समस्तीपुरबाट ‘रेफर’ गरी पटनास्थित एम्स अस्पतालमा उपचार भइरहेकोे थियो। किशोरीको शव शुक्रबार राति नेपाल ल्याइएको थियो भने उनको अन्त्येष्टिसमेत शुक्रबार राति ११ बजे नै गरिएको स्थानीय महेन्द्र साह कानुले जानकारी दिए।
किशोरीसँगै उनकी पत्नी रामपति र नातिनी सुजितासमेत घाइते भएकी थिइन्। दुवैजना घाइते उपचारपछि निको भएका छन्। बारागढी गाउँपालिकाका तीर्थालु बोकेको बस गत आइतबार बिहारको समस्तीपुरको मुसरीघरारी चोकमा ट्रकले ठक्कर दिँदा पल्टिएको थियो। दुर्घटनामा बसका चालक–सहचालकसहित सवार सबै घाइते भएका थिए। घाइतेमध्ये थप दुईजनाको अझै पनि भारतमा उपचार भइरहेको छ।