खेलकुदमन्त्री र सदस्यसचिवलाई प्रधानमन्त्री ओलीको निर्देशन, दशरथ रंगशालाको दुरुपयोग नगर्नू

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण
खेलकुदमन्त्री र सदस्यसचिवलाई प्रधानमन्त्री ओलीको निर्देशन, दशरथ रंगशालाको दुरुपयोग नगर्नू

महिला राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई नगदसहित सम्मानित गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले दशरथ रंगशालाको दुरुपयोग नगर्न खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई निर्देशन दिएका छन् । काभा नेसन्स लिग उपविजेता महिला टोलीलाई बिहीबार सरकारी निवास बालुवाटारमा पुरस्कार वितरण गर्दै उनले अन्तर्राष्ट्रिय मान्यताप्राप्त दशरथ रंगशालाको दुरुपयोग हुँदा राष्ट्रकै बेइज्जत भएको बताए । 

आफूले कहिल्यै रंगशालाको यस्तो दुरवस्था नदेखेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मैले भित्रै गएर दशरथ रंगशाला हेरेको छैन, रंगशाला बिग्रेको देखेको छु, तर यति सारो बिग्रेको मैदान देखेको छैन । अहिले निकै हिलो छ । एउटा खेल हेर्दा देशकै बेइज्जत भएको देखेँ,’ उनले भने, ‘देशकै बेइज्जत हुने खालको मैदान हुनुभएन ।’ चार महिनापछि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै २९ साउनमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल भएको थियो । 

एएफसी च्यालेन्ज लिग छनोटमा नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानको पारो एफसीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलअघि भारी वर्षा हुँदा मैदान हिलाम्मे बन्यो । चारैतिर पानी जमेको मैदानमा प्रतिस्पर्धा हुँदा खेलाडी नै नचिनिने अवस्था आएको थियो । पारोमा अनुबन्धित जापानका विश्वचर्चित खेलडी केइसुके होन्डाले मैदानको स्तरको विषयमा आक्रोश पोखेका थिए । उनले यस्तो मैदानमा कहिल्यै नखेलेको प्रतिक्रिया दिएका थिए । 

‘फुटबलबाहेक अन्य खेल अन्यत्र गर्नुस्’
खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाजस्तो मैदान अन्यत्र नभएकाले यहाँ फुटबल मात्र हुनुपर्ने र असम्बन्धित अन्य खेलका लागि यो मैदान प्रयोग नगर्न निर्देशन दिएका छन् । उनले अरू खेलको प्रतियोगिता अन्य मैदानमा आयोजना हुनुपर्ने सुझाव मन्त्री र सदस्यसचिवलाई दिए । 

एन्फाका पदाधिकारीले रग्वी खेल आयोजना गर्दा मैदान बिग्रेको उजुरी परेपछि प्रधानमन्त्री ओलीले असम्बन्धित खेल रंगशालामा गराउन नहुने प्रतिक्रिया दिएका हुन् । ‘हामीकहाँ अरू स्थानमा यस्तो खेलमैदान छैन, जहाँ दर्शक राखेर खेल देखाउन सकौँ । दुई वा चार सय मान्छेले हेर्ने फरक हो । हामीलाई २०–२५ हजार दर्शक अट्ने मैदान चाहिन्छ । त्यस्तो मैदानको दुरुपयोग नहोस्,’ ओलीले भने, ‘यो स्तरीय खेलको मैदान हो । यहाँ फुटबल मात्र हुनुपर्छ । अरू खेल खेल्नु छ भने त्यहीअनुसारको मैदान प्रयोग गर्नुपर्छ । सबै साथीलाई यसमा ध्यान दिन आग्रह गर्छु । यो काम आजैबाट सुरु गरौँ ।’ दशरथ रंगशालामा खेल खेलाउन नमिल्ने भएपछि एन्फाले साफ यू–२० च्याम्पियनसिप सातदोबाटोस्थित कृत्रिम मैदानमा आयोजना गर्यो ।

एन्फा र राखेपकै लापरबाही
राखेप र अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाही कारण दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो । एन्फाले गैरफुटबल आयोजना गर्न स्वीकृत माग्ने र राखेपले सहजै स्वीकृत दिएपछि रंगशालाको अवस्था बिग्रेको हो । 

राखेपले रग्वीलाई मैदान प्रयोग गर्न सहज स्वीकृति दिइरहेको छ । राखेपले कन्सर्ट, स्कुलका विभिन्न गतिविधि आयोजना गर्न शुल्क लिएर स्वीकृति दिँदै आएको छ । रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा नेपालले फिफा विश्वकप २०२६ छनोटअन्तर्गत युएई र बहराइनविरुद्धको खेल गुमाएको थियो । राखेपले एन्फालाई दिएको जिम्मेवारी खोसेर आफैँ मैदान बनाएको छ । 

महिना दिनमै पुरस्कार 
काभा महिला नेसन्स लिगमा उपविजेता महिला टोलीले पुरस्कार एक महिनाभित्रै पाएको छ । यसअघि सरकारले घोषणा गरेको पुरस्कार रकम खेलाडीले दुई वर्षपछि पाउने गरेका थिए । प्रधानमन्त्री ओलीले कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ र मुख्य प्रशिक्षक जगदीश भट्टलाई दुई लाख प्रदान गरेका छन् । टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक नीलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार रुपैयाँ प्रदान गरियो । ३१ साउनमा मन्त्रिपरिषद्को बैठकले सहभागी खेलाडी र प्रशिक्षलगायतलाई समग्रमा ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । 

सुझावित समाचार