पोखरेली युवामा क्यासिनो लत : क्यासिनो जानेमा ८० प्रतिशत नेपाली, ९० प्रतिशत कारोबार नेपाली मुद्रामै

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

५४ लाख ऋण लागेपछि पोखराका एक दम्पतीले दुई करोड तीन लाखमा जग्गा बिक्री गरे । श्रीमतीले वैदेशिक रोजगारीबाट कमाएको रकमले किनेको जग्गा बिक्री गरेको पैसा ऋण तिर्नमा खर्चन छाडेर श्रीमान् पोखराका क्यासिनो पुगे । र, ९५ लाख रुपैयाँ हारे ।  श्रीमान्ले क्यासिनोमा ९५ लाख हारेको थाहा पाएपछि घरझगडा सुरु भयो । अहिले सम्बन्धविच्छेदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

पोखरामा व्यवसाय गर्दै आएका ३७ वर्षीय एक युवकले क्यासिनो गएर ४४ लाख सके । उनले आफूसँग भएको पैसा मात्र होइन, साथीहरूसँग सापटी मागेर पनि क्यासिनो खेलेका थिए  । त्यति मात्र होइन, उनले आफूले चढ्दै आएको (आमाको नाममा रहेको) कार पनि २८ लाख मूल्य तोकेर ११ लाख बैना लिएर बेचे । दुई हप्ताभित्र कार पास गरिदिने भने पनि चार हप्तासम्म पनि उनले कार पास नगरेपछि यो विषय परिवारसम्म पुग्यो । त्यसपछि भेद खुल्यो– ती युवाले बैनाको ११ लाख क्यासिनोमा हारिसकेका रहेछन् । परिवारमा कलह सुरु भएपछि श्रीमती माइत बस्न थालेकी छिन् । 

कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापा भन्छन्– 
क्यासिनोमा नेपाली प्रवेश गरेको र रकम हारेको भन्ने सूचना आउने गरेको छ । तर, छापा हान्दा नेपाली भेटिँदैनन् । क्यासिनोमा नेपालीलाई प्रवेश गर्न नदिन मातहतका निकायलाई कडा निर्देशन दिँदै आएको छु । 

निर्माण व्यवसायमा रहेका पोखराका ४६ वर्षीय पुरुषले पनि क्यासिनोमा एक करोड ६४ लाख हारे । घर बनाउन ठेक्का लिएका घरधनीहरूसँग अग्रिम पैसा लिएर क्यासिनो पुगेका उनी नराम्रोसम्म फसे । पैसाजति क्यासिनोमा सकिएपछि उनले ठेक्काका काम अगाडि बढाउन सकेका छैनन् । पैसा तिर्न नसक्ने र काम पनि गर्न नसक्ने अवस्थामा पुगेपछि उनी हाल लुकिछिपी हिँड्न थालेका छन् । पारिवारिक कलह बढेपछि उनी केही दिनदेखि घरसमेत जान सकेका छैनन् । 

गण्डकीका यातायातमन्त्री राजीव गुरुङले केही दिनअघि काठमाडौंबाट आएका आफ्ना भतिजले क्यासिनोमा एक रातमा २५ लाख हारेको अन्तर्वार्तामा खुलाएका थिए । 

यी उदाहरण मात्र हुन्, प्रमुख पर्यटकीय क्षेत्र पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित चारतारे होटेल माउन्ट कैलाश रिसोर्टमा खुलेको क्यासिनो ताजमा खुल्लमखुला नेपालीले प्रवेश पाइरहेका छन् । जब कि, नेपाली नागरिकले क्यासिनो प्रवेश र क्यासिनोमा जुवा खेल्न नपाउने व्यवस्था छ । 

क्यासिनो गएर घटीमा १०–१५ लाखदेखि दुई करोडसम्म हार्ने नेपालीको संख्या पोखरामा मात्र १२० छ  । 

काठमाडौंका क्यासिनोमा कडाइ हुन थालेपछि नेपालीहरू क्यासिनो खेल्न पोखरा पुग्ने गरेका हुन् । जुन कुरा मन्त्री गुरुङको भनाइबाटसमेत पुष्टि हुन्छ  । उनी भन्छन्, ‘काठमाडांैमा अलि कडाइ गरेपछि क्यासिनोको तल लागेकाहरू पोखरा आउने गरेका छन् ।’ 

संघ सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागको सिफारिसमा क्यासिनो सञ्चालनको अनुमति दिन्छ । क्यासिनो सञ्चालनका लागि ‘क्यासिनो नियमावली, २०७०’ समेत छ । नियम १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनोस्थलमा प्रवेश गर्न नपाउने व्यवस्था छ । यदि नेपाली नागरिकलाई क्यासिनोस्थलमा प्रवेश गराएमा वा क्यासिनो खेलाएमा इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ । 

नेपालीलाई क्यासिनो खेल्न बन्देज गरिए पनि प्रहरी–प्रशासनको मिलेमतोमा सञ्चालकले निर्वाध रूपमा प्रवेश गर्न दिँदा पोखरामा समस्या सिर्जना भएको छ  ।

क्यासिने जाने नेपालीलाई पछाडिपट्टिका ढोेकाबाट प्रवेश गराउने गरिएको क्यासिनेमा ७३ लाख हारेका एक नेपालीले बताए । त्यति मात्र होइन, क्यासिनोमा नेपाली मुद्राको प्रयोग गर्न पाइँदैन । तर, यहाँका क्यासिनोमा ९० प्रतिशत कारोबार नेपाली मुद्रामा हुन्छ । आफू ११ पटक क्यासिनो गएको र आफू जाँदा केही भारतीय र केही चीनका बाहेक अन्य सबै नेपाली हुने गरेको उनले बताए । 

५४ लाख हारेका अर्का एकजनाले परिचय नखुलाउने सर्तमा भने, ‘चारतारे होटेलमा सञ्चालन गर्ने मिनी क्यासिनो आधुनिक उपकरण तथा विद्युतीय मेसिनको माध्यमबाट मात्र खेलाइनुपर्ने हो । तर, पोखरामा भने मेसिनको प्रयोग नगरी मान्छेले खेलाउने गरिएको ।’ उनका अनुसार बाजीको सीमा (बेट लिमिट) अर्थात् एकपटकमा खेल्न सक्ने अधिकतम बाजीको सीमा तोक्नुपर्नेमा नतोकी एकपटकमा चार लाखसम्मको बाजी लगाएर खेलाउने गरिएको छ । 

क्यासिनो ताजका परचेज म्यानेजर किरण गुरुङले भने नेपाली प्रवेश नगरेको दाबी गरे । ‘बाहिर कसले के भन्यो र भन्छ, त्यसको मतलब छैन । तर हामीले नेपालीलाई प्रवेश गर्न दिएका छैनौँ,’ उनले भने ।

मेसिनको साटो हातले खेलाएको बारेमा प्रश्न गर्दा उनले आफू प्राविधिकतर्फको नभएकाले त्यसबारेमा जानकारी नभएको बताए । उनका अनुसार सिजनमा दैनिक एक सय ५० देखि एक सय ८० र अफ सिजनमा ८० देखि ९० जनाको हाराहारीमा आउने गरेका छन् । 

कास्कीमा प्रहरी प्रमुख मोहनकुमार थापाले क्यासिनोमा नेपाली गएको भनेर सूचना आउने गरेको र लगत्तै छापा हान्दा नभेटिएको जानकारी दिए । प्रवेशमा प्रहरी प्रशासनले सहयोग गरेको आरोपको खण्डन गर्दै उनले नेपालीलाई प्रवेश गर्न नदिन भनी मातहतका निकायलाई कडा निर्देशन दिँदै आएको बताए । 

सुझावित समाचार