सडक डिभिजन कार्यालय लहानले सप्तरीको राजविराज–छिन्नमस्ता–न्योर बोर्डरसम्मको सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग गरेको सम्झौताको म्याद सकिँदासम्म १३ प्रतिशत मात्रै काम भएको छ।
सडक निर्माणको काम पूरा नहुँदा वर्षायाममा सडक हिल्लामे र अन्य समयमा धुलाम्य हुँदा आवतजावतमा निकै कठिनाइ हुने गरेको छ। भारत र सप्तरीको सदरमुकाम राजविराजबाट प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर पुग्ने बाटो यही हो। राजविराजबाट १० किलोमिटर दक्षिणमा पर्छ। बाटो ठिक हुँदा ३० रुपैयाँ भाडा लाग्ने ठाउँमा अहिले ७० रुपैयाँ तिरेर घुम्नुपर्दा सास्ती खेप्नु परिरहेको राजविराज– ७ का राजु देवले बताए।
ठाउँठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछि थप समस्या भएको यात्रुहरूको गुनासो छ। सडककै कारण सवारी यात्रु ओराल्दै र चढाउँदै लैजानुपरेको टेम्पो व्यवसायी सत्यनारायण चौधरी बताउँछन्।
कुनै पनि वेला दुर्घटना हुन सक्ने भएका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपरेको उनको गुनासो छ। पहिला बस सञ्चालन हुने बाटोमा अहिले बस सेवा पनि बन्द छ।
सडक डिभिजन कार्यालय लहानले ०७९ असार २३ गते साह इन्जिनियरिङ प्रालिसँग २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो।
राजविराज–छिन्नमस्ता–न्योर बोर्डर सम्झौताअनुसार उक्त निर्माण कम्पनीले ०८१ असार ३० गतेसम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने थियो। तर, हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयको तथ्यांक छ।
दसैँमा नेपाल र भारत दुवैतर्फबाट छिन्नमस्ता जोड्ने सडकमा भक्तजनको चाप बढ्ने गर्छ। सडक नबन्दा तीर्थालुहरू आउने क्रममा समेत प्रभाव पर्न सक्ने र उनीहरूलाई समस्या हुने देखिएको छ। दसैँको १० दिन यहाँ लाखौँको संख्यामा तीर्थालुहको भिड हुने गर्छ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले निर्माण कम्पनीको लापरबाहीका कारण सडक नबनेको र आवागमनमा समस्या भएको बताए। उनले आफूसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय र ठेकेदारदेखि विभागीय प्रमुख, प्रधानमन्त्रीसमेतलाई भेटेर सडक बनाउन ध्यानाकर्षण गराए पनि काम नभएको गुनासो गरे।
अब सडकका लागि छिन्नमस्ताका जनप्रतिनिधिहरू सिंहदरबार पुगेर आन्दोलन गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए।