वेस्ट ब्यांकको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिलले बताएका छन्।
इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चारजना र टुबास सहरनजिकैको शरणार्थी शिविरमा थप चारजनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएका प्रवक्ता जिब्रिलले बताए।
इजरायली सेनाले बुधबार बिहान उत्तरी वेस्ट ब्यांकमा ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएपछि गाजाको युद्धसँगै वेस्ट ब्यांकमा हिंसा बढेको छ।
इजरायली अधिकारीका अनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन्।