उदयपुरको त्रियुगा नगरपालिका–११ मा पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईंका अनुसार खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका–११, पिजिचोक बस्ने रविन राईका सातवर्षे छोरा रिचेश राईको मृत्यु भएको हो।
डिएसपी चापागाईंले पौडी खेल्ने क्रममा आज मंगलबार डुबेर बालकको मृत्यु भएको बताए। ‘मृत्यु हुने बालकसँगै अन्य दुईजना पनि पौडी खेल्न गएका रहेछन्। दुईजना सकुशल पोखरीबाट निस्केछन्,’ उनले भने।