अमेरिकी राष्ट्रपतीय चुनावमा मुसलमान मतदाता

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

अधिकांश मुसलमान मतदाताले इजरायललाई सैन्य सहायता घटाउनुपर्ने नीतिमा समर्थन गर्दै उम्मेदवारको ऐक्यबद्धता खोजिरहेका छन्

अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा डेमोक्य्राट र रिपब्लिकन दुवै मुसलमान समुदायमा केन्द्रित भएका छन् । मुसलमान समुदायले जनसंख्याको करिब एक प्रतिशत हिस्सा ओगट्ने भए पनि उनीहरू अस्थिर मतदान हुने राज्यका एक प्रमुख मतदाता समूह हुन् । तसर्थ, अत्यधिक प्रतिस्पर्धात्मक चुनाव हुने क्षेत्रमा मुसलमान मतदाताको भूमिका महत्वपूर्ण हुने गर्छ ।

हालको चुनावी अभियानका क्रममा मुसलमान समुदाय गाजा द्वन्द्वको मुद्दामा एकजुट भएका छन् । ‘इंगेज एन्ड चेन्ज रिसर्च’सँगको सहकार्यमा ‘इन्स्टिट्युट फर सोसल पोलिसी एन्ड अन्डरस्ट्यान्डिङ’ (आइएसपियू) द्वारा गरिएको नयाँ अध्ययनले मुसलमान मतदाताको मत पाउन प्यालेस्टाइनमा रक्तपात अन्त्य गर्नुपर्ने आह्वानलाई सम्बोधन गर्नैपर्ने जनाएको छ । जुनको अन्त्य र जुलाईको सुरुमा गरिएको सर्वेक्षण जर्जिया, पेन्सिलभेनिया र मिसिगन राज्यमा मुसलमान मतदाताको उद्देश्यमा केन्द्रित थियो । अनुसन्धानले राष्ट्रपति जो बाइडेनले गाजा द्वन्द्वलाई लिएर गरेको कामका कारण सन् ०२० मा उनका प्रमुख समर्थक रहेका मुसलमान समुदाय कडा आलोचक बनेको देखाएका छन् । त्यसवेला अस्थिर मतदान हुने प्रमुख राज्यमा करिब ६५ प्रतिशत मुसलमान मतदाताले बाइडेनलाई समर्थन गरेकाले उनले सानो अन्तरले चुनाव जितेका थिए । जर्जियामा उनले केवल १२ हजार मतले जितेका थिए, त्यहाँ ६१ हजारभन्दा बढी मुसलमान मतदाताले मतदान गरेका थिए । त्यसैगरी, पेन्सिल्भेनियामा जितको अन्तर ८१ हजार थियो, त्यहाँ एक लाख २५ हजार मुसलमानले मतदान गरेका थिए ।

हाम्रो सर्वेक्षणमा (सर्वेक्षण हुँदा बाइडेन चुनावी प्रतिस्पर्धाबाट बाहिरिसकेका थिएनन्) केवल १२ प्रतिशत मुसलमान उत्तरदाताले मात्रै बाइडेनलाई मतदान गर्ने बताएका थिए, जुन अन्य समूहका तुलनामा तीव्र गिरावट हो । यसले राष्ट्रपतीय प्रतिस्पर्धालाई मात्र नभई समग्र डेमोक्रेटिक पार्टीसँगको व्यापक निराशालाई पनि झल्काउँछ । गाजा द्वन्द्वले मुसलमान मतदातालाई हालैका अन्य मुद्दाभन्दा बढी एकताबद्ध गरेको छ । आइएसपियूद्वारा सन् २०२० मा गरेको सर्वेक्षणमा मुसलमान मतदाताका लागि प्रमुख मुद्दा स्वास्थ्य सेवा (१९ प्रतिशत), अर्थ व्यवस्था (१४ प्रतिशत) र सामाजिक न्याय (१३ प्रतिशत) थिए ।

सन् २०२४ मा जर्जिया, पेन्सिलभेनिया र मिसिगनका ६१ प्रतिशत मुसलमान मतदाताले गाजा द्वन्द्वमा चासो देखाए भने २२ प्रतिशत उत्तरदाताले अमेरिकाले विदेशी युद्धबाट हात झिक्नुपर्ने बताए । अधिकांशले मुसलमान उत्तरदाता इजरायललाई सैन्य सहायता घटाउनुपर्ने नीतिमा समर्थन गर्छन् र यसलाई समुदायले मतदानका लागि महत्वपूर्ण ठान्छन् । 

हाम्रो सर्वेक्षणभन्दा महिनौँअघि गाजा द्वन्द्वमा मुसलमान समुदायको चासो अप्रतिबद्ध राष्ट्रिय अभियानमा उनीहरूको भूमिकामार्फत स्पष्ट थियो । यसले सात लाखभन्दा बढी डेमोक्य्राटलाई राष्ट्रपतीय चुनावको प्राइमरीमा ‘अप्रतिबद्ध’ मतदान गरायो, जहाँ बाइडेनको इजरायल–प्यालेस्टाइन नीतिमा परिवर्तनको माग गरिएको थियो । बाइडेनका पूर्वमुसलमान समर्थक बढ्दो रूपमा तेस्रो पक्षतिर गइरहेका वा अनिर्णीत छन् । हाम्रो अध्ययनले आमजनताको ६ प्रतिशतको तुलनामा २७ प्रतिशतले तेस्रो पक्षको उम्मेदवारलाई मतदान गर्ने योजना बनाएका छन्, तीन प्रतिशतले उम्मेदवार हेरेर मतदान गर्ने र १७ प्रतिशत अझै पनि अनिर्णीत भएको पत्ता लगाएको छ । यसले उम्मेदवारलाई मुसलमान समुदायको महत्वपूर्ण समूहसँग संलग्न हुने अवसर निर्माण गर्छ र उम्मेदवार त्यसो गर्न प्रयास गरिरहेका पनि देखिन्छन् ।

बाइडेन चुनावी दौडबाट बाहिर मात्र भएका छैनन्, कमला ह्यारिसले इजरायलको गाजा नीतिका लागि आफ्नो बलियो समर्थनलाई घटाएकी छिन् । उनी कांग्रेसमा भएको नेतन्याहुको सम्बोधनमा सहभागी भइनन्, युद्धविरामका लागि समर्थन व्यक्त गरिन् र प्यालेस्टिनीप्रति बढी सहानुभूति राख्ने मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिका लागि छनोट गरिन् । वाल्जले गाजा मानवीय संकटबारे मतदाताका चिन्ता र चासोलाई स्वीकार गर्दै अप्रतिबद्ध मतदाताको प्रशंसा पनि गरेका छन् ।

ह्यारिसको चुनावी अभियानले प्यालेस्टिनी–अमेरिकी वक्तालाई डेमोक्य्राटिक राष्ट्रिय अधिवेशनमा प्रतिबन्ध लगाएपछि मुसलमानका आशामा तुसारापात भएको छ । यसको ठिकविपरीत तेस्रो–पक्षका उम्मेदवार जिल स्टेन र कर्नेल वेस्टले सक्रिय रूपमा गाजालाई समर्थन गरेका छन् । वेस्टले उपराष्ट्रपतिका लागि अश्वेत मुस्लिम कार्यकर्ता मेलिना अब्दुल्लालाई छानेका छन् भने स्टेनले मुसलमान कार्यकर्ता रुडोल्फ ‘बुच’ वेयरलाई रोजेका छन् ।

विगतको मुस्लिमविरोधी बयानका बाबजुद डोनाल्ड ट्रम्पको अभियान अब अरब अमेरिकी मतदाताप्रति लक्षित देखिन्छ । जर्जिया, मिसिगन र पेन्सिलभेनियामा ट्रम्पका लागि मुसलमान समर्थन सन् ०२० मा १८ प्रतिशतबाट ०२४ मा २२ प्रतिशतमा पुगेको छ । ट्रम्पकी कान्छी छोरी टिफानीका श्रीमान् र ज्वाइँ मसाद बुलुस लेबनानी अमेरिकी व्यापारी हुन् । टिफानी वर्तमान सरकारको गाजा नीतिको आलोचना गर्दै मिसिगनका अरब मतदातालाई ट्रम्पलाई समर्थन गर्न सक्रिय रूपमा प्रोत्साहित गर्दै छिन् । प्यालेस्टाइनप्रति मुसलमान समुदायको सहानुभूतिका कारण उब्जेका पूर्वाग्रहका घटनामा वृद्धि भएको छ । अमेरिकी–इस्लामिक सम्बन्ध परिषद्ले सन् ०२३ मा इस्लामद्वेषमा ५६ प्रतिशतले वृद्धि भएको जनाएको छ । प्यालेस्टाइनविरोधी नश्लभेद पनि बढेको छ । यसलाई भर्मन्टमा तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानिएको घटनाले पुष्टि गर्छ । यसबाहेक हजारौँ मुसलमान विद्यार्थीले अमेरिकी कलेजमा प्यालेस्टिनी समर्थन सक्रियताका लागि गिरफ्तार वा निष्कासनको धम्कीको सामना गरिरहेका छन् ।

प्यालेस्टाइन मामिलामा सार्वजनिक अडान लिएर निम्तिएको परिणामका बाबजुद मुसलमान मतदाता आफ्ना विचारमा अडिग छन् । गाजाका लागि समर्थन मुसलमान मतदाताका शीर्ष चिन्ताको विषय बनेको छ । तसर्थ मुसलमान समुदाय एक आवश्यक समूह बनेको छ, जसलाई कुनै पनि उम्मेदवारले बेवास्ता गर्न सक्दैन ।

(मोगाहेद इन्स्टिट्युट फर सोसल पोलिसी एन्ड अन्डरस्ट्यान्डिङ (आइएसपियू)की पूर्वअनुसन्धान निर्देशक र सेलोड अनुसन्धान निर्देशक हुन्) 

अल जजिराबाट

सुझावित समाचार