बंगलादेशले पहिलोपटक हरायो पाकिस्तानलाई

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

बंगलादेशले टेस्ट खेलमा पहिलोपटक पाकिस्तानलाई हराएको छ । रावलपिन्डी मैदानमा आइतबार बंगलादेशले पहिलो टेस्टमा पाकिस्तानमाथि १० विकेटको सानदार जित निकाल्यो । जितसँगै दुई टेस्ट सिरिजमा बंगलादेश १–० ले अगाडि बढेको छ । सन् २००१ मा पहिलोपटक यी दुईबिच टेस्ट खेल भएको थियो । आइतबार जित निकाल्नुअघि बंगलादेश पाकिस्तानसँग १२ टेस्टमा पराजित भएको थियो । एक ड्र तथा एक खेल रद्द भएको थियो ।

चौथो इनिङ्समा पाकिस्तानले बंगलादेशलाई ३० रनको सहज लक्ष्य दिएको थियो । पाकिस्तानले दोस्रो दिनको सुरु २३–१ बाट गर्यो । बंगलादेशले पाकिस्तानलाई १४६ रनमै समेटिदियो । पाकिस्तानको दोस्रो इनिङ्समा विकेटकिपर ब्याट्सम्यान मोहमद रिजवानले सर्वाधिक ५१ रन बनाए । ओपनर अब्दुल्ला सफिकले ३७ तथा बाबर आजमाले २२ रन जोडे ।

पाकिस्तानको इनिङ्स कमजोर बनाउन मेहदी हसन मिराजले चार विकेट लिए । अलराउन्डर सकिब अल हसनले तीन विकेट हात पारे । बंगलादेशको सानदार जितमा ओपनर जकिर हसनले २६ बलमा १५ रन जोडे । उनले तीन चौका प्रहार गरे । सदमान इस्लामले १३ बलमा एक चौकाको सहयोगमा ९ रन बनाए । पाकिस्तानका लागि अघ सलमानले १.३ ओभरमा ९ तथा निसिम साहले तीन ओभरमा सात रन खर्चेका थिए । 

पहिलो इनिङ्समा ११७ रनको अग्रता 
पाकिस्तानले पहिलो इनिङ्समा  ४४८/६ को अवस्थामा खेल समाप्त गरेको थियो । प्रत्युत्तरमा बंगलादेशले पहिलो इनिङ्समा ५६५ रनको बलियो योगफल बनायो । पाकिस्तानविरुद्ध बंगलादेशले पहिलो इनिङ्समा ११७ रनको अग्रता लियो । पाकिस्तानको पहिलो इनिङ्समा साउद सकिलले १४१ रनको शतकीय योगदान दिए ।

उनले २६१ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान रिजवानले २३९ बलमा १७१ रन बनाए । उनले ११ चौका र तीन छक्का प्रहार गरेका थिए । बंगलादेशको पहिलो इनिङ्समा मुसफिकर रहिमले १९१ रन बनाए । उनले ३४१ बलमा २२ चौका र एक छक्का प्रहार गरे । 

सुझावित समाचार