तीन गुणा बढ्यो विद्युत् खपत

आर्थिक वर्ष ०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष ०८०/८१ मा १० अर्ब दुई करोड युनिट खपत

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि नेपालमा विद्युत् खपत तीन गुणाले बढेको छ । आर्थिक वर्ष ०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष ०८०/८१ मा १० अर्ब दुई करोड युनिट खपत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आठ वर्षमा विद्युत् खपत ६ अर्ब ५१ करोड युनिटले वृद्धि भएको हो ।

 प्राधिकरणका अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी गार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत वर्षसम्म आइपुग्दा चार सय युनिट पुगेको प्राधिकरणले जनाएको छ । 

आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठ घण्टा र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ भएको थियो । ०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरहरूका गार्हस्थतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । प्राधिकरणले ०७५ वैशाखबाट देशैभर लोडसेडिङमुक्त घोषणा 
गरेको थियो । आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेकोमा अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक पनि बढेर सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि विद्युत् खपत बढेको बताए । ‘ठूला तथा साना उद्योगहरूले निरन्तर विद्युत् पाइरहेका छन्, यस अवधिमा उद्योगहरूको धेरै लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ,’ उनले भने, ‘व्यापक विद्युतीकरणका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ ।’ 

उनले थपे, ‘हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन्, त्यस्ता चुनौती र समस्या समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका लागि देशका प्रमुख सहरलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् ०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिएको छ ।’

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको बताए । गत आवमा पिक डिमान्ड अघिल्लो आव ०७९/८० को तुलनामा ११.३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग दुई हजार दुई सय १२ मेगावाट पुगेको थियो । 

वर्षायामका ६ महिना विद्युत् भारततर्फ निर्यात भए पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घटी केही महिना आयात गर्नुपर्ने अवस्था रहेको घिसिङको भनाइ छ । तर, प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको देखिन्छ । गत आवमा प्रणालीमा आयातीत ऊर्जाको हिस्सा १४.६८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा ८.५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ । 

गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत् आयात गरिएको थियो । तर, यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्– लोडसेडिङ अन्त्यपछि विद्युत् खपत बढेको छ । ठूला तथा साना उद्योगहरूले निरन्तर विद्युत् पाइरहेका छन्, यस अवधिमा उद्योगहरूको धेरै लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ । व्यापक विद्युतीकरणका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ ।

सुझावित समाचार