चिनियाँ अनुदानका भेहिकल स्क्यानर जडान, तर जनशक्ति अभाव

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

जडान भइसकेको मेसिनलाई सय दिनभित्र ‘जडान तथा सञ्चालन’ गर्छु भन्दै अर्थमन्त्री पौडेलले घोषणा गरे, तर अनुदानमा प्राप्त मेसिन चलाउने जनशक्ति नहुँदा त्यसै थन्किने चिन्ता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन महिनाभित्रै तातोपानी भन्सारमा ‘लगेज तथा भेहिकल स्क्यानर’ मेसिन जडान गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । जबकि, मेसन एक महिनाअघि नै जडान (इन्स्टल) भइसकेको छ । बरु, चलाउने जनशक्ति नहुँदा जडान भएका मेसिनरी सञ्चालनमा भने आउन सकेको छैन ।

अर्थ मन्त्रालयले तयार पारेको एक सय दिनको कार्ययोजनामा पनि तातोपानी भन्सारमा लगेज तथा भेहिकल स्क्यानर मेसिन सञ्चालनमा ल्याउने उल्लेख छ । तातोपानीमा चीनले अनुदानमा दिएका ‘लगेज तथा भेहिकल स्क्यानर’ मेसिन जडान एवं परीक्षण भइसकेका छन् । 

‘पहिलो कुरो, तातोपानी नाकामा महिना दिनअघि नै जडान तथा परीक्षण भइसकेको भेहिकल स्क्यानर सय दिनभित्र जडान गरेर सञ्चालनमा ल्याउँछु भनेर अर्थमन्त्रीले भन्नुभयो,’ नाम उल्लेख नगर्ने सर्तमा भन्सार विभागका एक अधिकारीले भने, ‘तर, जडान भइसकेका मेसिन पनि जनशक्ति नहुँदा चल्न सकेका छैनन्, प्राविधिक ज्ञान नहुँदा ती मेसिन त्यतिकै थन्किने जोखिम बढेको छ ।’

चीनले गत २२ माघमा करिब ६० करोड रुपैयाँबराबर मूल्य पर्ने दुईवटा भेहिकल र लगेज स्क्यानर नेपाललाई हस्तान्तरण गरेको थियो । लगेज स्क्यानर नाकामा राखिएको छ भने भेहिकल स्क्यानर सुक्खा बन्दरगाहमा जडान गरिएको छ । भन्सार प्रक्रिया पूरा गरेपछि चिनियाँ पक्षले ती मेसिनरी जडान गरिदिएर सञ्चालनको सामान्य अभ्याससमेत गराइदिएका थिए । तर, दक्ष जनशक्ति नहुँदा अहिले ती मेसिन प्रयोगमा आउन सकेका छैनन् ।

‘लगेज स्क्यानरलाई अहिलेको जडित बिजुलीको भोल्टेज कम भएर काम गरेन, विद्युत्को अनियमितता र कम भोल्टेज चल्न सकेको छैन,’ ती अधिकारीले भने, ‘भेहिकल स्क्यानर भने चलाउने जनशक्ति नै छैनन्, तालिमप्राप्त  जनशक्ति नहुँदा स्क्यानर प्रयोगमा ल्याउन सकिएको छैन ।’ यदि अविलम्ब जनशक्तिको व्यवस्थापन नगर्ने हो भने ती स्क्यानर त्यसै थन्किने जोखिम देखिएको उनले बताए ।

यस विषयमा जानकारी माग्दा तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले लगेज तथा भेहिकल स्क्यानर जडान तथा सञ्चालनका प्रक्रियाहरू चलिरहेको दाबी गरे । ‘हस्तान्तरण भएको अलि अघि नै हो, जडान तथा सञ्चालनको प्रक्रिया भने चलिरहेको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयको घोषणाअनुसार यी मेसिनहरू छिट्टै सञ्चालनमा अउनेछन् ।’ उनले ती मेसिनरी सञ्चालनका लागि भन्सार विभागमार्फत अर्थ मन्त्रालय र चिनियाँ पक्षसँग समन्वय भइरहेको बताए । 

‘उहाँ (चिनियाँ पक्ष)ले स्क्यानर सञ्चालनका लागि आइडिया दिनुभएको छ, तर त्यो मात्रै पर्याप्त छैन, एकजना मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियर नै चाहिन्छजस्तो लाग्छ, त्यसको दरबन्दीका लागि समेत विभागमार्फत अर्थ मन्त्रालयमा जानकारी गराएका छौँ,’ उनले भने, ‘त्यस्तै, यो मेसिन सञ्चालनका लागि आवश्यक तालिमलगायत सहजीकरणका लागि चिनियाँ पक्षसँग समेत छलफल भइरहेको छ ।’ तोकिएको समयमा सञ्चालनमा ल्याउन भन्सार कार्यालय तत्पर रहेको उनले दाबी गरे । 

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले मेसिनहरू जडान भइसकेको र सञ्चालनको तयारी भइरहेको बताए । ‘चिनियाँ पक्षले सामान्य तालिम दिनुभएको छ, हामीले थप प्राविधिक सहयोगका लागि आग्रह गरेका छौँ,’ उनले भने, ‘आन्तरिक रूपमै जनशक्ति तयार गर्ने तथा व्यवस्थापन गर्ने कार्यसमेत भएकाले तोकिएको समयभित्र स्क्यानर मेसिन सञ्चालनमा आइसक्नेछ ।’ उनले दीर्घकालीन रूपमै समस्या समाधानका लागि जनशक्ति उत्पादन व्यवस्थापनका लागि तातोपानी भन्सार कार्यालयबाट माग आएको र सोहीअनुसार समन्वयको काम भइरहेको बताए । 

विगतकै नियति दोहोरिने सम्भावना : चीनले अनुदानमा दिएका भेहिकल स्क्यानर प्रयोगमै नआई काम नलाग्ने भए  
विगतमा पनि चीनले नेपाललाई अनुदानमा भेहिकल स्क्यानर मेसिन दिएको थियो, तर सञ्चालनमा आउन सकेन । दुई दशकअघि चीन सरकारबाट अनुदानमा पाएका भन्सारमा मालवस्तु तथा कन्टेनर स्क्यायन गर्ने दुई ठूला स्क्यानर (एक्स–रे मेसिन) प्रयोगमै नआई काम नलाग्ने भएका थिए ।

चीनले ०६० सालतिर नेपाललाई दुईवटा स्क्यानर मेसिन दिएको थियो । कन्टेनरसमेत स्क्यान गर्न सकिने मेसिन (भेहिलक स्क्यानर)लाई सुक्खा बन्दरगाहमा राखिएको थियो । मालवस्तु स्क्यान गर्ने अर्को ठूलो आकारको स्क्यानर मेसिन (एक्स–रे) भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थियो । सुरुमा चीनका प्राविधिक जनशक्तिको सहयोगमा केही समय ती स्क्यानर सञ्चालन गरिएका थिए । तर, चिनियाँ प्राविधिक फर्किएपछि नेपालीले ती मेसिनरी चलाउन सकेनन् ।

यसपटक पनि चीनले तातोपानी नाकाका लागि भेहिकल स्क्यानर दिएको छ, तर चलाउने जनशक्ति छैनन् । जनशक्ति अभावकै कारण मेसिनरी विगतमा झैँ प्रयोगविहीन भएर बिग्रने जोखिम रहेको कार्यालयकै कर्मचारीहरू बताउँछन् । तर, विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने विगतको समस्या यसपटक दोहोरिन नदिने गरी काम भइरहेको दाबी गरे । ‘त्यसवेला जनशक्तिको अभाव, उच्च लागत, लोडसेडिङलगायत कारण ती स्क्यानर प्रयोग गर्न सकिएको थिएन,’ उनले भने, ‘यसपटक पनि त्यस्तो समस्या दोहोरिएला भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो, तर विभागले मन्त्रालयसँग समन्वय गरेर दीर्घकालीन रूपमै समस्या समाधानका लागि प्राविधिक तथा जनशक्ति विकास र व्यवस्थापनको काम गरिरहेको छ ।’

सुझावित समाचार