एएफसी वुमन्स च्याम्पियन्स लिगमा डेब्यु गरेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पहिलो खेलमा आज उज्वेकिस्तानको पिएफसी नासाफसँग खेल्दै छ । खेल मलेसियाको लिकास मैदानमा हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी)ले नयाँ स्वरूपमा पहिलोपटक उच्चस्तरीय प्रतियोगिता आयोजना गरेको हो । प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका लागि तयारी पूरा भएको बताए । ‘हामीले अन्तिम तयारी गरेका छौँ । समग्रमा तयारी राम्रो भएको छ,’ मलेसियाबाट नयाँ पत्रिकासँग उनले भने ।
एपिएफ ०७८ मा भएको राष्ट्रिय लिग विजेता हैसियतमा प्रतियोगितामा सहभागी भएको हो । त्यसयता लिग नभए पनि एपिएफले राष्ट्रिय टोलीका खेलाडी समावेश गर्दै टिम निर्माण गरेको हो ।
समूह ‘सी’को दोस्रो खेलमा एपिएफले मलेसियाकै सवा एफएसँग खेल्नेछ । तीनमध्ये शीर्ष हुने टोली समूह चरणमा पुग्नेछ । समूह चरणमा पुग्न सक्ने टोलीले समूह चरणमा चीनको वुहान जियान्दा र दक्षिण कोरिया इन्चोन रेड एन्जल्स र अर्को प्रारम्भिक चरणको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
एपिएफले कप्तानी जिम्मेवारी मिडफिल्डर अनिता बस्नेतलाई दिएको छ । टिममा राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा, प्रीति राई, गीता राना, सरु लिम्बू, रेनुका नगरकोटे, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, अनु लामा, रश्मिकुमारी घिसिङ, अनिता केसी र सरस्वती हमाल र सावित्री किसन, छन् । त्यस्तै, नेपाल पुलिसबाट गोलकिपर उषानाथ र रक्षक अमृता जैसी तथा त्रिभुवन आर्मी क्लबबाट अमिशा कार्की र दीपा शाहीलाई अनुबन्ध गरेको छ ।