हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेंगी संक्रमण

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

बर्खायाम लागेसँगै डेंगी र हैजा रोगको संक्रमण बढेको। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको बताए। 

७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। यस वर्ष हालसम्म तीनजना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ। 

काठमाडौं जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगी संक्रमण देखिएको छ। वर्षाको वेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पतालपरिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। यस्तै, महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन्। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्युठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए। 

उनका अनुसार ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्युठान दुई, मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ। हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ। 

See More On

सुझावित समाचार