बिमस्टेकको छैटौँ सम्मेलन स्थगित

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण
बिमस्टेकको छैटौँ सम्मेलन स्थगित

श्रीलंकाको कोलम्बोमा ६ चैत ०७८ मा भएको बिमस्टेकको पाँचौँ शिखर सम्मेलन

आयोजक राष्ट्र थाइल्यान्डमा न्यायालयले सरकारलाई बर्खास्त गरेपछि बनेको नयाँ सरकारद्वारा १९ भदौमा हुने सम्मेलन थप तयारीका लागि भन्दै तत्काललाई सारियो

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १९ भदौका लागि तय भएको छैटौँ शिखर सम्मेलन पछि सरेको छ । सम्मेलनको आयोजक राष्ट्र थाइल्यान्डमा न्यायालयले सरकारलाई बर्खास्त गरेपछि बनेको नयाँ अन्तरिम सरकारले सम्मेलन पछि सारेको छ । थाइल्यान्डको परराष्ट्र मन्त्रालयले बिमस्टेक सम्मेलन पछि सरेको जनाएको छ । 

थाइल्यान्डमा ३७ वर्षीया पाएटोङटार्न सिनावात्रा प्रधानमन्त्री निर्वाचित भएसँगै बिमस्टेक सम्मेलन अन्योलमा परेको थियो । अदालतले यसअघिका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाएको अभियोगमा बर्खास्त गरेपछि नयाँ राजनीतिक माहोल बनेको थियो ।

नेपालले बिमस्टेक सम्मेलन पछि सरेको औपचारिक पत्र भने अहिलेसम्म पाएको छैन । ‘बिमस्टेक सम्मेलन पछि सरेको संकेत आएको छ, तर औपचारिक रूपमा हामीलाई जानकारी आइसकेको छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले शुक्रबार नयाँ पत्रिकासँग भने । 

बिमस्टेकको चौथो शिखर सम्मेलन १४ र १५ भदौ ०७५ मा काठमाडौंमा भएको थियो जसको अध्यक्षता पनि प्रधानमन्त्री ओलीले गरेका थिए । बिमस्टेकको पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा ६ चैत ०७८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन २० फागुन ०७० म्यानमारमा भएको थियो भने दोस्रो सम्मेलन २८ कात्तिक ०६५ मा नयाँदिल्लीमा र पहिलो शिखर सम्मेलन १६ साउन ०६१ मा थाइल्यान्डमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् । बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोडेको छ । यो क्षेत्रको जनसंख्या एक अर्ब ७३ करोड छ । 

सन् १९९७ जुन ६ मा बिमस्टेक स्थापना भएको थियो भने सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले बिमस्टेक बडापत्रमा ३० मार्च २०२२ मा हस्ताक्षर गरेका थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकको बडापत्र ७ जेठदेखि लागू भएको छ । स्थापनाको २७ वर्षपछि यो वर्ष बडापत्र लागू भएको हो । 

ओलीको औपचारिक भ्रमण पनि स्थगित
बिमस्टेकको सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी ओलीले थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पनि तयारी थियो । प्रधानमन्त्री ओलीलाई यसअघिका थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले निमन्त्रणा गरेका थिए । ओलीले यसपटक पहिलो औपचारिक विदेश भ्रमण थाइल्यान्डमा गर्न लागेका थिए । ‘प्रधानमन्त्री ओलीले सेप्टेम्बर ५ र ६ (२० र २१ भदौ)मा थाइल्यान्डमा उच्चस्तरीय औपचारिक वार्ता गर्ने गरी कार्यक्रम तयारी हुँदै थियो । थाई नरेशसँग शिष्टाचार भेट गर्ने कार्यक्रम बन्दै थियो,’ एकजना कूटनीतिक अधिकारीले भने । अब बिमस्टेक सम्मेलन स्थगित भएसँगै ओलीको भ्रमण तयारी पनि स्थगित भएको छ । 

सुझावित समाचार