लक्जरी एसयुभी ‘जिकर एक्स’ नाडा अटो सोमा लन्च हुने भएको छ । ११ भदौदेखि सुरु हुने नाडा अटो सोमा प्रदर्शन गर्न लागिएको आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ ।
कम्पनीले यसको रियर–ह्विल र अल ह्विल–ड्राइभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार यो नयाँ प्रिमियम इभीको मूल्य क्रमशः ९० लाख र एक करोड ६० लाख पर्ने जनाइएको छ । चिनियाँ अटो निर्माता जिलीअन्तर्गतको प्रिमियम इभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडेलको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल–ह्विल–ड्राइभ सिस्टम दिएको छ ।
सो नयाँ कम्प्याक्ट एसयुभीमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा चार सय ४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, यसको रियर–ह्विल ड्राइभमा दुई सय किलोवाट तथा अल–ह्विल ड्राइभमा तीन सय १५ किलोवाट क्षमताको मोटर राखिएको बताइएको छ ।
सिंगल मोटर भेरिएन्टले दुई सय किलोवाट पिक पावर तथा तीन सय ४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले तीन सय १५ किलोवाट पिक पावर र पाँच सय ४३ एनएम टर्क जेनेरेट गर्छ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले शून्यदेखि सय किलोमिटरसम्मको गति लिन सक्छ ।