देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । 

See More On

सुझावित समाचार