मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मरेको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैँसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार मनहरी गाउँपालिका– ६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा पसेर गएराति बाघले भैँसीलाई आक्रमण गरेको थियो । तर, उल्टै भैँसीको आक्रमणबाट बाघको मृत्यु भएको छ ।
बाघले आक्रमण गर्दा एउटा भैँसी पनि घाइते भएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । बाघले गोठमा पसेर भैँसीलाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले घटनास्थलमा खटिएको प्रहरी टोलीका अनुसार बाघ बुढो रहेको र भैँसीले हान्दा बाघको मृत्यु भएको हुन सक्ने बताए । मरेकाे बाघलाई चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले साथैमा लगेको प्रवक्ता भण्डारीले जानकारी दिए।