भोजपुरको उत्तरी क्षेत्र दिङ्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। ५ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले बताए।
सरकारले ०७९ असार १ देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको थियो। सरकारले परिचयपत्र वितरण सुरु गरे पनि सेवा लिन आउने नागरिकले भने सहज नभएको गुनासो गर्दै आएका छन्। भोजपुरको उत्तरी क्षेत्रका नागरिकका लागि इलाका प्रशासन कार्यालय दिङ्लाबाट राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको छ।
परिचयपत्र बनाउन सर्वसाधारणहरू विभिन्न स्थानबाट षडानन्द नगरपालिकाको दिङ्लामा भेला हुन थालेका छन्। इलाका प्रशासन कार्यालय दिङ्लाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएपछि नागरिकलाई राहत मिलेको छ। सेवा सुरु भएसँगै दुई दिनको पैदल यात्रा गरी सदरमुकाम भोजपुर जानुपर्ने बाध्यता हटेको स्थानीयहरू बताउँछन्।
करिब ५० हजार नागरिक रहेको यस क्षेत्रमा हाल तीनजना कर्मचारीले सेवा दिइरहेका छन्। प्रत्येक वडामा सेवा सञ्चालन गरीने र एक दिनमा कम्तीमा एक सयजनालाई सेवा दिइने प्रशासन कार्यालय प्रमुख अधिकारीले बताए।