दाङमा इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँमा इनार सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए। बिहान करिब १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै दमारगाउँ प्रहरी पोस्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो ।
दुवैजनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए।