पर्सामा ४६८ हेक्टर वन क्षेत्र अतिक्रमण

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

पर्सामा ४६८ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन्।

डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका ४६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए।

‘स्थानीयवासीले साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्,’ उनले भने, ‘वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजंगल जोगाउन समस्या भइरहेको छ। अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ।’

डिभिजन वन कार्यालयका अनुसार पर्सामा चार सय ६८.१४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ। ठोरी गाउँपालिका बराहनजिकै रहेको वन दुई सय दशमलव ७० हेक्टर अतिक्रमणमा परेको छ। यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो।

त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र एक सय ६७.६८ हेक्टर, मधुवन क्षेत्रको वन ३२.४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन्। सखुवा प्रसौनी साझेदारी वन ३३.२० हेक्टर, सबैया साझेदारी वन २२.२३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ। त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२.०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कर्णले जिल्लाभरिमा अतिक्रमणमा परेको वनमा करिब एक हजार पाँच सयको हाराहारीमा घरटहरा निर्माण भएको बताए।

‘कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरिवेक्षण गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘वेलाबखतमा स्थानीय प्रशासनसँग समन्वयमा अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ।’ डिभिजन वन कार्यालयमा कुल सयजना कर्मचारीको दरबन्दी भए पनि अहिले ५९ जना मात्र कार्यरत छन्। जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको छ।

पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ। चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन्। साझेदारी वन ११ हजार चार सय ९.१४ हेक्टरमा फैलिएको छ भने धार्मिक वन ३४.६३ हेक्टर क्षेत्रफलमा रहेको छ। निजी वन एक सय १० हेक्टर, राष्ट्रिय वन ७.५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वनमा साल, खयर, मसला, टिक, सिमल, सिसौ, जामुनलगायत प्रजातिका रुख छन्।

सुझावित समाचार