चिनियाँ कामदारले अबको केही समयमै अधिक उमेरसम्म काम गर्नुपर्ने हुन सक्छ । जुलाई २०२४ को अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टीले देशको वैधानिक अवकाश उमेरलाई पाँच वर्षले बढाउने निर्णय गरेको छ, जसले ६५ वर्षलाई सम्भावित अवकाश उमेर बनाउनेछ । यो परिवर्तनले चीनलाई अन्य ठूला अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न थप मद्दत गर्ने भनिएको छ । हाल चीनको अवकाश उमेर पुरुषको ६० र बौद्धिक काममा रहेका महिलाका लागि ५५ र शारीरिक श्रम गर्ने महिलाका लागि ५० वर्ष तोकेको छ ।
चिनियाँ कम्युनिस्ट नेताले वर्षौंदेखि चीनको सेवानिवृत्ति योजनामा परिवर्तन गर्न छलफल गर्दै आएका छन् । यो छलफलका पछाडि देशको निवृत्तिभरण कोषमा भएको संकुचन र वृद्ध जनसंख्याको प्रभावको चिन्ता रहेको छ । चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले सन् ०३५ सम्म निवृत्तिभरण कोष समाप्त हुने अनुमानसमेत गरेको छ । सेवानिवृत्तिको उमेर बढाउनुले पेन्सन कोषलाई अस्थायी रूपमा विस्तार गर्न सक्छ, तर चीनको गहिरो जनसांख्यिकीय समस्या भने समाधान गर्दैन । आफ्नो ४० वर्षभन्दा बढी समयदेखिको चीनको जनसंख्या अध्ययनका आधारमा हालको जनसांख्यिकीय चुनौती देशको शताब्दीयौँदेखिको सबैभन्दा गम्भीर समस्या हो भन्न सक्छु म ।
प्रतिमहिला १.१ बच्चाको प्रजनन दर र जन्मभन्दा बढी मृत्युका कारण चीनले घट्दो जनसंख्या र बढ्दो वृद्ध जनसांख्यिकीको सामना गरिरहेको छ । स्मरण रहोस्, मूल निवासीको जनसंख्यालाई स्थिर राख्न २.१ बच्चाको प्रजनन दर आवश्यक हुन्छ । यसबाहेक चीनमा आप्रवासनको न्यूनतम स्वीकृतिले (०.१ प्रतिशत चिनियाँ मात्रै विदेशमा जन्मेका हुन्) यो समस्यालाई चर्को बनाएको छ ।
सक्रिय आप्रवासन नीतिविना चीनको जनसंख्या आउँदो शताब्दीमा हालकोभन्दा आधा हुन सक्छ र विश्वकै वृद्ध देशमध्ये एक बन्नेछ
कम्युनिस्ट चीन आफ्नो जीवनकालको अधिकांश समय जनसंख्या वृद्धिको साक्षी बनेको छ । सन् १९५० मा जनवादी गणतन्त्र चीन स्थापना भएपछिको गणनामा देशको जनसंख्या ५३ करोड ९० लाख थियो । त्यसपछि यो वृद्धि लगभग ७० वर्षसम्म जारी रह्यो र सन् २०२१ मा त्यहाँको जनसंख्या एक अर्ब ४३ करोड पुग्यो । तर, सन् २०२१ नै जनसंख्या वृद्धिको चरम बिन्दु बन्न पुग्यो । सन् २०२१ यता चीनमा जन्मभन्दा धेरै मृत्यु देखिएको छ र जनसंख्या घट्ने क्रममा छ । राष्ट्र संघका विभिन्न प्रक्षेपणले जनसंख्या घट्ने यही क्रम जारी रह्यो भने चीनको जनसंख्या सन् २०७० सम्ममा एक अर्बभन्दा तल झर्नेछ । सन् २०८६ सम्ममा ८० करोडभन्दा मुनि र सन् २१०० सम्ममा ६३ करोड ३० लाखमा झर्नेछ अर्थात् ७५ वर्षमा चीनको मौजुदा जनसंख्याको आकार आधाभन्दा बढीले घट्नेछ ।
चीनले घट्दो जनसंख्या मात्र नभई जनसांख्यिकीमा पनि ठूलो परिवर्तनको सामना गरिरहेको छ । राष्ट्र संघको तथ्यांकअनुसार सन् २१०० सम्ममा जनसंख्याको ५२ प्रतिशतभन्दा बढी हिस्सा ६० वा बढी उमेरका मानिसको हुने अनुमान गरिएको छ जब कि सन् २०२३ मा यो आँकडा २० प्रतिशतको हाराहारीमा थियो । सोही तथ्यांकअनुसार हाल नवयुवा श्रमिक (२० देखि २९ वर्ष) १२ प्रतिशत छ र प्रौढ श्रमिक (३० देखि ५९ वर्ष) ४६ प्रतिशत छ । र, सन् २१०० मा यो संख्या क्रमशः सात प्रतिशत र २९ प्रतिशतमा झर्नेछ ।
त्यसैगरी बालबालिका र युवा वयस्क (१९ वर्ष र मुनिका) को अनुपात २१ प्रतिशतबाट ११ प्रतिशतमा झर्नेछ । छोटकरीमा भन्ने हो भने चीनको जनसंख्या अनुमानले अन्धकार भविष्यको संकेत गर्छ, अर्थात् बढ्दो वृद्ध जनसंख्यालाई समर्थन गर्न निकै कम श्रमिक हुनेछन् । र, सेवानिवृत्तिको उमेर बढाउने चीनको प्रस्ताव यी मुद्दालाई सम्बोधन गर्न खासै उपयोगी हुनेछैन । यसले जनसंख्याको गिरावटलाई सुस्त बनाउँदैन र काम गर्ने वयस्क र अवकाश प्राप्त गर्नेको अनुपातलाई मात्रै थोरबहुत असर गर्छ ।
आप्रवासनले जनसंख्या घट्ने प्रवृत्ति रोक्न मद्दत गर्न सक्छ । चीनमा ०.१ प्रतिशत विदेशी–जन्मदरका विपरीत न्यून प्रजनन दर भएका अन्य मुलुक अमेरिका र जर्मनीलगायत देशमा जन्मिएकाको जनसंख्या क्रमशः १४ र १८ प्रतिशत छ । यी मुलुक युवा कामदारका लागि आप्रवासनमा निर्भर छन् र यी आप्रवासीमाझ उच्च जन्मदर हुने गरेको देखिन्छ । एसियाकै सन्दर्भमा जापान र दक्षिण कोरियामा पनि यो दर क्रमशः दुई र ३.७ प्रतिशत छ, जुन चीनभन्दा बढी हो । चीन सरकारले जन्मदर बढाउने नीति लागू गर्न धेरै प्रयास गरिरहेको छ जब कि जनसंख्याविद् यस्ता उपायले काम नगर्ने मत राख्छन् । आप्रवासनसँगको चीनको सीमित अनुभव र कम्युनिस्ट पार्टीका धेरै नेतामा जातीय शुद्धताप्रतिको दृढ विश्वासका कारण सक्रिय आप्रवासन नीति लागू गर्न चुनौतीपूर्ण हुनेछ ।
तर, युवा चिनियाँ जनसंख्याबाट आप्रवासनको प्रतिरोध हुन सक्छ । आम–आप्रवासनलाई प्रोत्साहन गर्ने जुनसुकै नीतिले पनि सुरुवातमा चुनौती व्यहोर्छ, अर्थात् सुरुमा केही चिनियाँले रोजगारी गुमाएर अन्यत्र रोजगारी खोज्नुपर्ने हुन सक्छ । तर, सामान्यतया आप्रवासीले स्थानीय जनताले रुचि नगर्ने काममा रोजगारी खोज्छन् र यी काम प्रायः फोहोरी, जोखिमयुक्त र अपमानजनक हुने गर्छन् । यो प्रवृत्ति युरोपेली देश र अमेरिकामा देख्न सकिन्छ ।
सक्रिय आप्रवासन नीतिविना चीनको जनसंख्या आउँदो शताब्दीमा हालकोभन्दा आधा हुन सक्छ र विश्वकै वृद्ध देशमध्येको एक बन्नेछ । बेइजिङले पहिले नै पेन्सन सुधारको आवश्यकतामा जोड दिँदै यी मुद्दासँग संघर्ष गरिरहेको छ । र, युवा आप्रवासी जनशक्तिविना समस्या उल्लेखनीय रूपमा चर्किनेछन् ।
(पोस्टन जुनियर टेक्सास ए एन्ड एम विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट